काठमाडौँ। नेपालको श्रम क्षेत्रमा श्रमिक अधिकारहरू तीव्र गतिमा खुम्चिँदै गएको भन्दै अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले गम्भीर चिन्ता व्यक्त गरेका छन्। राजधानीमा ट्रेड युनियन महासंघहरूले आयोजना गरेको जलवायु परिवर्तनको असरबारे सामाजिक संवाद कार्यक्रममा बोल्दै उनले अहिलेको श्रम क्षेत्रलाई ‘जुरेको पहिरो’ सँग तुलना गरे।
अधिकारको क्षयीकरण र श्रमिकको पीडा
अध्यक्ष सिम्खडाले श्रमिकहरूले आफ्ना अधिकारहरू देख्न र भोग्न नपाउने अवस्था सिर्जना भएको बताउँदै उनीहरूले अहिले धेरै दुःख र पीडा भोगिरहेको उल्लेख गरे। “अहिले श्रम क्षेत्रमा जुरेको पहिरो आएजस्तो भएको छ, जसले हाम्रा अधिकारहरू बढारेर लिएर गएको छ,” उनले भने।
“कहिलेकाहीँ त यो रसुवामा आएको बाढीजस्तै छ, जहाँ अधिकार भन्ने कुरा हामीले भोग्न, देख्न पनि नपाउने स्थिति छ।”
सिम्खडाले थपे, “सामाजिक संवादको विषय न्यायिक रूपान्तरणको सवालमा अहिले नेपालको सन्दर्भमा एउटा ठूलै उथलपुथल भयो भने मात्रै सामाजिक संवाद, ऐन, कानून र संविधानले दिएको अधिकार हामीले पाउने र रक्षा हुने स्थिति होला। तर आजको दिनमा एकदम पीडा र दुःखको अवस्थामा भएका अधिकार कटौति हुँदै जाने स्थिति सिर्जना भएको छ।”
जलवायु परिवर्तन र श्रमिकमाथि दोहोरो मार
कार्यक्रममा ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनको असर नेपालमा पछिल्लो समय अत्याधिक बढिरहेको बताए। यसले श्रमिकहरूलाई सबैभन्दा बढी समस्यामा पारेको उनको भनाइ छ।
“हाम्रो (नेपालको) योगदान वातावरणीय प्रदूषणमा अत्यन्त न्यून छ, छँदै छैन भन्दा पनि हुन्छ। तर सबैभन्दा बढी भार बोक्नुपर्ने स्थिति बनिरहेको छ,” कुँवरले भने।
उनका अनुसार, वातावरणीय प्रकोपबाट सबैभन्दा ठूलो असर श्रमिक वर्गमा परिरहेको छ, जसका कारण उनीहरू रोजगारीबाट विमुख भइरहेका छन्। “उनीहरूले क्षतिपूर्ति पाउने स्थिति बनिरहेको छैन। विभिन्न कोषहरूलाई लक्षित वर्गमा जोड्न सकेका छैनौँ,” कुँवरले चिन्ता व्यक्त गरे।
कार्यक्रममा अन्य वक्ताहरूले जलवायु परिवर्तनका कारण पर्यटन र कृषि क्षेत्रमा पनि ठूलो समस्या आएको औंल्याए। यी दुई क्षेत्रले नेपालको रोजगारीमा ठूलो योगदान गरिरहेको भन्दै उनीहरूले जलवायु परिवर्तनले श्रमिक, उद्यमशीलता र समग्र देशको अर्थतन्त्रमा गम्भीर असर पारिरहेकोमा जोड दिए ।

