विविध क्षेत्रका प्रतिभालाई उच्च कदर
काठमाडौँ। साहित्य सन्ध्याले २०८१ सालका लागि पाँच विशिष्ट स्रष्टाहरूलाई विभिन्न विधामा साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय सार्वजनिक गरेको छ। साहित्य सन्ध्याको कार्यसमिति बैठकले यस वर्षका सम्मानित स्रष्टाहरूको नाम सार्वजनिक गरेको हो।
प्रा.डा. कपिल लामिछानेलाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान, नवराज श्रेष्ठलाई साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान, डा मञ्जु दाहाललाई साहित्य सन्ध्या मन पुरस्कार तथा सम्मान, सरोज अधिकारीलाई साहित्य सन्ध्या कृबा पुरस्कार तथा सम्मान र भवानी खतिवडालाई साहित्य सन्ध्या हरिप्रिया-हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार तथा सम्म्मान प्रदान गर्ने निर्णय भएको साहित्य सन्ध्याका अध्यक्ष कवि, निबन्धकार राम विनयले बताए ।

२१,१०० रुपैयाँ नगद राशीसहितको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रा.डा. कपिल लामिछानेलाई उहाँको अनुकरणीय साहित्यिक सत्कर्मका लागि प्रदान गरिने साहित्य सन्ध्याका उपाध्यक्ष कवि रमेश पोखरेलले बताउनु भयो । वि.सं. २०१५ असोज २४ गते कास्कीमा जन्मनुभएका लामिछानेले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर र ‘नेपाली गाउँखाने कथा’ मा विद्यावारिधि गर्नुभएको छ। वि.सं. २०३४ सालदेखि कथा, लघुकथा, कविता, निबन्ध, समालोचना, बालसाहित्य र लोकसाहित्यमा निरन्तर कलम चलाउँदै आउनुभएका उहाँका पाँच दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्। नेपाली समाजका विसङ्गत पक्षलाई उजागर गर्दै प्रगतिवादी वैचारिकताको वकालत गर्ने एक क्रियाशील र बौद्धिक स्रष्टाको रूपमा उहाँ परिचित हुनुहुन्छ।

५,००० रुपैयाँ नगद राशिसहितको साहित्य सन्ध्या सहभागिता पुरस्कार धादिङका नवराज श्रेष्ठलाई उहाँको साहित्य सन्ध्याका मासिक गोष्ठीहरूमा नियमित तथा सक्रिय सहभागिताका लागि प्रदान गरिने भएको हो। साहित्य सन्ध्याले आयोजना गरेका १२ वटा गोष्ठीमध्ये ११ वटामा सहभागी भई १० वटामा रचाना वाचन समेत गर्नुभएको अभिलेखका आधारमा उहाँलाई यो सम्मान दिइएको हो। कविता, कथा, निबन्धमा कलम चलाउँदै आउनुभएका श्रेष्ठले ‘भारपाङ आबाज’ नामक कृति पनि सह-लेखन गर्नुभएको छ।
डा. मञ्जु दाहाललाई साहित्य सन्ध्या–मन (मदनप्रसाद सत्याल–नर्मदेश्वरी सत्याल) पुरस्कार तथा सम्मान) अर्पण गरिने निर्णय भएको र यो सम्मान तथा पुरस्कार १०,००० रुपैयाँ नगद राशि सहित रहेको छ । यो पुरस्कार सर्लाहीकी डा. मञ्जु दाहाललाई उहाँको चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामार्फत समुन्नत समाज निर्माणमा पुर्याउनुभएको योगदान को उच्च सम्मान गर्दै प्रदान गरिने साहित्य सन्ध्याले जनाएको छ। नेपालकै पहिलो महिला अकुपन्चरिस्ट बन्ने इतिहास बनाउनुभएकी डा. दाहालले जापानबाट अकुपन्चरमा स्नातक गर्नुभएको छ।
विगत एक दशकभन्दा बढी समयदेखि नेपालको एकमात्र अकुपन्चर कलेज ‘ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्र’ मा प्राचार्यको रूपमा कार्यरत दाहाल चिकित्सक र शिक्षासेवीका रूपमा अनुकरणीय व्यक्तित्व हुनुहुन्छ।
१०,००० रुपैयाँ नगद राशि सहितको साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र–बालकुमारी) पुरस्कार तथा सम्मान) काभ्रेपलाञ्चोकका सरोज अधिकारीलाई उहाँको उत्कृष्ट शैक्षिक प्रदर्शन र उज्ज्वल भविष्यको प्रेरणाका लागि प्रदान गरिने साहित्य सन्ध्याले बताएको छ। हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत दाप्चा बहुमुखी क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत अधिकारी अनुशासित, लगनशील र मिहिनेती विद्यार्थी हुनुहुन्छ। विपन्न पारिवारिक पृष्ठभूमिबाट आउनुभएका उहाँको प्रतिभा छायाँमा नपरोस् र भविष्यमा पनि उत्कृष्टता कायम गरिरहन उत्प्रेरणा मिलोस् भन्ने उद्देश्यले यो सम्मान दिइएको हो।

त्यसैगरी भवानी खतिवडालाई साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय भएको छ भने यो सम्मान तथा पुरस्कार १०,००० रुपैयाँ नगद राशि सहित रहेको छ । उदयपुरकी भवानी खतिवडालाई उहाँको नेपाली नियात्रा साहित्यको समृद्धिमा पुर्याउनुभएको अविश्रान्त योगदानको उच्च कदर गर्दै प्रदान गरिने भएको हो । नेपाल सरकारको निजामती सेवामा रहनुभएकी खतिवडाले कृषि डिप्लोमा, बी.एड., एलएलबी र ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएको छ। उहाँका ‘घामभन्दा पहिले’, ‘चारखोलाको आँगनीमा’, ‘आकाश ओढेको डोल्पो’ र ‘प्रणाम सगरमाथा’ नियात्रा कृतिहरू प्रकाशित छन्।

नियात्रा विधामा विशेष कलम चलाएवापत उहाँले विभिन्न पुरस्कार तथा सम्मानहरू पनि प्राप्त गर्नुभएको छ।
पुरस्कार तथा सम्मानका लागि स्रष्टाहरूको चयन साहित्य सन्ध्याका सल्लाहकार साहित्यकार वासुदेव अधिकारीको संयोजकत्वमा नमुना शर्मा र प्रशान्त खरेल सदस्य रहेको स्रष्टा चयन समितिले गरेको सिफारिसलाई साहित्य सन्ध्याले अनुमोदन गरेको हो।
उल्लेखित पुरस्कार तथा सम्मान भदौ ७ गते शनिबार अपराह्न १ बजे पद्मकन्या क्याम्पसको डेनिस हलमा आयोजित विशेष समारोहमा अर्पण गरिने जनाईएको छ।
मिसन अधिकारीबाट प्रेषित

