काठमाडौँ। हिन्दु नारीहरूको महान् पर्व तीज नजिकिँदै गर्दा बजारमा नयाँ-नयाँ तीज गीतहरूको लहर सुरु भएको छ। कोही मौलिकपन बोकेर आएका छन् भने कोही आधुनिक धुनमा सजिएका छन्। तर, यही आधुनिकताको दौडले तीजको मौलिक मर्मलाई कतै छायाँमा पार्ने त होइन भन्ने चिन्ता गायिका हरिदेवी कोइरालालाई सताएको छ। यही चिन्ता र मर्मलाई समेट्दै कोइरालाले यस वर्ष ‘उठौं जागेर’ बोलको तीज गीत बजारमा ल्याएकी छिन्।
गीतमा महिलाको आवाज, समाजको दर्पण
गायिका कोइरालाको आफ्नै स्वर, शब्द र लयमा सजिएको यो गीत तीजको वास्तविक भावना र महिलामाथि भइरहेका प्रहारविरुद्धको सशक्त आवाज बनेको छ। गीतमार्फत उनले महिलाहरूलाई आफ्नो अधिकार र सम्मानका लागि एकजुट हुन आह्वान गरेकी छिन्।
तीज गीतमा बढ्दो विकृतिप्रति गहिरो चासो राख्ने कोइरालाले हरेक वर्ष मौलिक भाकाका गीतहरू सिर्जना गर्दै आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएकी छन्। यस वर्षको ‘उठौं जागेर’ उनको पहिलो प्रस्तुति हो। उनले अरू तीनवटा गीतहरूको रेकर्डिङ सकिएको र ती पनि चाँडै बजारमा आउने तयारीमा रहेको बताइन्।
”मैले यसपटक राम-सीताको गाथा जस्ता धार्मिक प्रसङ्ग, छोरीको इच्छाविपरीत गरिने विवाहको सामाजिक पीडा, र माइतीको मीठो सम्झनालाई गीतमा उतारेकी छु,” उनले भनिन्। “तीजका गीत महिलाका सुख, दुःख, वेदना र सामाजिक चेतना बोक्ने सशक्त माध्यम हुन्, तर आजभोलि बजारमा आउने अधिकांश गीत महिलाको अस्मितामाथि नै धावा बोल्दै उनीहरूलाई वस्तुकरण गर्न खोजेको जस्तो देखिन्छ।”

कोइराला तीजको संस्कृति र सङ्गीतको संरक्षणमा आफू एक्लै भए पनि निरन्तर लागिरहने अठोट गर्छिन्। “लोक संस्कृति जोगाउनु केवल पुराना गीतहरूको संरक्षण मात्र होइन, यो हाम्रो सामूहिक पहिचान र अस्तित्वको आधार हो,” उनले भनिन्। “यसले हामीलाई आफ्नो इतिहास र पुर्खाको ज्ञानसँग जोड्दै सामाजिक एकतालाई बलियो बनाउँछ। हाम्रो मौलिक कला, ज्ञान र जीवनशैलीलाई बलियो पार्दै भावी पुस्तालाई मौलिक चिनारी हस्तान्तरण गर्न लोक संस्कृतिको संरक्षण अपरिहार्य छ।”
कोइरालाको मौलिकताको खोजी शब्द र सन्देशमा मात्र सीमित छैन; उनका गीतका भिडियोहरूमा परम्परागत नेपाली घर, चौतारी, कुवा, पँधेरो, गोठ र खेतबारीको मौलिकपन पनि देख्न सकिन्छ। २०४५ सालदेखि नेपाली गीत सङ्गीतमा सक्रिय हरिदेवीले आठ सयभन्दा बढी गीतमा काम गरिसकेकी छन् भने ८० भन्दा बढी एल्बम रेकर्ड गराएकी छिन्। ‘हम्काइलो’, ‘ऐना हेरेर’, ‘पाइन खबर’, ‘फूलको बास्ना’ जस्ता कैयौँ कालजयी गीतहरू उनका चर्चित सिर्जना हुन्।
विकृतिविरुद्ध सामूहिक आह्वान
तीजको सन्दर्भ र विषयवस्तुभन्दा बाहिर गएर केवल चर्चाका लागि गीत बनाउने प्रवृत्ति हाबी भएकोमा चिन्ता व्यक्त गर्दै कोइरालाले यसलाई निरुत्साहित गर्न सर्जक मात्र नभई सञ्चारमाध्यम र सरोकारवाला निकायले विशेष भूमिका खेल्नुपर्ने बताइन्। “अहिले तीज गीतमा छाडापन बढ्नुको मुख्य कारण नै भाइरल हुने होड र व्यापारीकरण हो,” उनले भनिन्। “टिकटक र युट्युबमा छिटो चर्चा पाउनकै लागि सर्जकहरूले तीजको मौलिक मर्म बिर्सेर अपाच्य शब्द र भड्किलो नाचलाई प्राथमिकता दिएका छन्, यो गलत हो।”
पहिले चेलीको दुःख पोख्ने सशक्त माध्यम बनेका तीजका गीतहरू अहिले सतही मनोरञ्जन र पैसा कमाउने साधनमा सीमित बन्नु दुर्भाग्यपूर्ण भएको कोइरालाको बुझाइ छ।

