तोमनाथ उप्रेती
धर्म आचार विचार र संस्कारको समग्र रुप हो । हिन्दू, बौध्द, क्रिश्चियन, मुश्लिम, जैन, यहुदी लगायतका सबै धर्म दर्शनमा आधारित छ । यस मध्ये हिन्दू धर्म आदिकाल देखि चल्दै आएकोले यसलाई सनातनी धर्म पनि भन्ने गरिन्छ । विश्वमा सबैभन्दा पुरानो लिपिबद्ध धर्म हिन्दू धर्म नै हो । हिन्दू धर्ममा हत्या हिंशामा अबोध पशुको बली दिने कुरा पवित्र गीता र वेदमा कहिँ कतै उल्लेख गरिएको छैन । विश्वमा मानव–अधिकार मात्र नभएर पशु–अधिकारका बिषयमा समेत आवाज वुलन्द भई रहेको वर्तमान सन्र्दभमा हाम्रो देशमा हजारौँ–हजार निर्दोश जनावरहरूको बलीको नाममा सामुहिक हत्या भइरहेको अवस्था विधमान छ । यस्तो अवस्थामा अहिँसाका प्रतिक भगवान बुद्ध जन्मिएको देश नेपालमा यो बुद्ध भूमि हाम्रो नेपाल हो भनेर कुर्लदै हिड्नु कुनै अर्थपूर्ण छैन। धार्मिक परम्पराको निरन्तरता भन्दै गरिने अबोध प्राणीहरूको क्रुर–वध पूर्ण रूपमा अमानवता, असभ्यता, अबैज्ञानिक,असान्र्दभिक,धर्मको नाममा कलंक र धर्मको अपुर्ण ज्ञानको धोतक वाहेक अरु केहि होइन ।
हिन्दू धर्मको मूल शास्त्र वेद र गीतामा त्यस्ता अबोध पशुपंक्षीका रगतले आफ्ना आराध्य देवलाई बली दिनु भन्ने कंही कतै उल्लेख गरकै छैन । केही दन्त्य कथाका आधारमा बली प्रथाको विकास भएको छ । जो हिन्दुत्वको विरुद्ध हो ,अभिसाप हो । यो पुर्णतः कूरीति, कुसंस्कार,अल्पज्ञता मात्र हो। सबैभन्दा पहिले हामीले बुझ्नु पर्ने कुरा के हो भने– धर्म र संस्कृति÷परम्परा यी उस्तै– उस्तै लागे पनि अलग–अलग चीज हुन्।
नेपालमा हामीले धर्मले संस्कृतिलाई परिभषित गर्नुको सट्टा संस्कृतिले नै धर्मलाई परिभषित गरिरहेका छौँ। नेपालमा मान्दै आएका संस्कृतिहरू मध्ये केहि हिन्दू धर्मबाट प्रदुर्भाव भएका छन् अनि कुनै चाँहि हामी आँफैले उत्पत्ति गरि अज्ञानता–बश हिन्दू धर्मसंग जोडी दिएका छौँ– गढीमाइ बली–प्रथा यसको ज्वलन्त उदाहरण हो। त्यस्तै देवीका मन्दिरहरूमा दशैँमा दिइने बलीहरू, पुरानो समाजमा सती–प्रथा यसका अरु थप उदाहरण हुन। संसारमा भौतिक संरचना कुन चरम बिन्दुमा पुगि सके तर हामी मुर्ख नेपालीहरू दुई–कोठे घरको ढलान गर्दा समेत बोकाको बली दीन छोडेका छैनौँ– घर बलियो हुने अन्धबिश्वामा। यो कस्तो संस्कार हो ?
न त हामी आधुनिक सभ्य मनिस सरह सोच–कार्य गर्न सक्यौ, न त आफ्नै धर्मको नै पूर्ण ज्ञान लिएर संस्कृति सुधार्न सक्यौँ। बुद्धको फोटोमा अगरबत्ति जलाउने अनि बलीको नाममा मार हान्न हिड्ने, हातमा लडडु लीई बसेका गणेशलाई ढोग्ने अनि अण्डा फुटाइ चढाइ दिने। यो ब्रह्माण्ड नै भगवानको हो, भगवान त सर्वशक्तीमान छन् भन्ने पनि दिमागमा पाल्ने अनि उनै भगवान चाहिँ बोको पाउनको लागि मेरो भाकल पुरा गर्छन् भन्ने पनि सोच्ने। धार्मिक दृष्टिले हेर्दा, यदि कसैले भाकल गरेको नाममा बली दिई हाल्छ भने पनि त्यो अर्थहिन देखिन्छ।
सबै प्राणीलाई आफुँलाई जत्तिकै माया गर्ने, अरु प्रति दया, प्रेम र करुणा देखाउने, पूर्ण शाकाहारी÷सात्विक भोजन र र योग बाट पवित्र जीवन जिउने व्यक्ति मात्र पुर्ण मानव हुन सक्छ । हिन्दू धर्मको नाममा फैलीएको बिभ्रान्ति र त्यसैबाट पैदा भएका कु–संस्कारहरू नेपाली समाजको चुनौती हुन्।
धर्म भन्ने बित्तिकै धारण गर्नु, सेवा गर्नु, भलाई गर्नु भन्ने बुझिन्छ। धर्मले हत्या हिंसाको पक्ष लिँदैन भन्ने बुझ्नुपर्छ। धर्म शब्द कुनै हिंसाको द्योतक हैन। मन, वचन र कर्मले कसैको हिंसा–हत्या नगर्नु, प्राणीमात्रमा सद्भाव राख्नु, अर्काको कुभलो नचिताउनु नै धार्मिक प्रवृत्तिका लक्षणहरु हुन्।‘बलि’ शब्द कुनै हत्या हिंसा, मार–काट गरेर रगत चढाउनु भन्ने अर्थमा प्रयोग भएको हैन। भोजनका लागि जुन हविष्यान्न घरमा पकाइन्छ त्यसैले बलि दिनुपर्दछ (अभावमा साग–पात, फल–फूल, गहुँ, चामल, तिल, मूंग, जौं आदिलाई पात ओछ्याएर पातमा बलि दिने विधान छ)।
मनवको जन्म अन्यलाई मारेर मासु खाएर जिब्रो पड़काउन भएको हैन। तन्त्र साधना अनुरूप बलि दिएर तमोंगुणी भूतलाई बशमा गरी स्वईच्छा पूरा गर्न पनि भएको हैन। तपाईको जन्म त धर्म गर्न अर्थात दया, माया, सबै जीवात्माप्रति प्रेम, काम÷क्रोध÷लोभ÷मोह नियंत्रण जस्ता गुण धारण गर्न आवश्यक छ ।
देवदेवीलाई बलि दिँदा देवदेवीहरू खुशी हुन्छन् र आफूले चिताइएका इच्छा, आकाङ्क्षाहरू सबै पुरा हुन्छन् भन्ने मनोविश्वास मानिसमा रहेको पाइन्छ । पशुबलि दिए देवदेवीको आर्शीवाद मार्फत पुत्र प्राप्त हुने जनविश्वासले पनि पशुबलि प्रथा समाजमा विद्यमान रहेको पाइन्छ । देवाली वा कुल पूजामा पनि पशुबलि अनिवार्य रूपमा लिइन्छ । दसैंमा सबै जसो समुदायमा पशुबलि दिनु पराम्परागत अनिवार्यता जस्तो देखिन्छ । हिन्दु सँस्कारमा कुभिण्डो, घिरौला, खिरको लड्डु आदि अर्पण गर्नुलाई पनि बलिको रूपमा स्वीकार गरेको पाइन्छ । अतः अहिंसावादीहरूले शक्तिरूपी देवी दुर्गाको उपासना गर्दा फलफूल चढाएको पाइन्छ । तर बलि प्रथावादीहरू भने परम्पराको नाममा निर्दोष पशुको घाँटी रेटेर रगत चढाउने बर्बर कार्य गर्दै आएका छन् ।पशुबलि चढाउने कुरीति तथा कुप्रथाले हाम्रो संस्कृतिमाथि नै प्रश्न उठ्ने गरको छ ।
अहिलेको एक्साइसऔं शताब्दीमा पनि बलि प्रथा जस्तो बर्बर र अमानवीय कुसंस्कृति हाम्रो समाजमा विद्यमान रहनुका मुख्यतः तीन कारण रहेको देखिन्छ । पहिलो कारण अन्धविश्वास नै हो । अवोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवीदेवता खुशी हुन्छन्, आफूले इच्छाएको पूरा हुन्छ भन्ने भ्रम जुन जनमानसले आफ्नो मन मस्तिष्कमा पालेका छन्, त्यही नै बलि प्रथा जस्ता कुप्रथाको मूल जड हो ।अन्धविश्वासको कालो बादल हाम्रो समाजमा यसरी मडारिएको छ कि हामी स्वतन्त्र भएर सोच्न पनि सक्दैनौं । जस कारण हामी गलत र सहि बिचको फरक पनि छुट्टाउन सक्दैनौं र बलि प्रथा, बोक्सी प्रथा, छुवाछूत प्रथा जस्ता अनेकौं कुप्रथा तथा कुसस्ँकृतिलाई अँगालिरहेका छौं ।दोस्रो कारण, राज्यले अन्धविश्वासलाई प्रश्रय दिनु हो । राज्यको कर्तव्य कुरीति तथा कुप्रथाको अन्त्य गरी सभ्य समाजको सृजना गर्नु हो । तर बिडम्बना भन्नु पर्छ राज्यले आफ्नो कर्तव्य भुलेर कुप्रथाहरूलाई प्रश्रय दिइरहेको छ । राज्यमा अनिष्ठ केहि नहोस, जनकल्याण होस भन्ने नाममा र सोचे जस्तो हुन्छ भन्ने भ्रममा राज्यद्धारा विभिन्न शक्तिपीठहरूमा बलि तथा भेटी चढाउन परम्पराको रूपमा विकसित भएको छ भन्दा अतिश्योक्ति नहोला । परम्पराको नाममा राँगा बलिका लागि सरकारले आर्थिक सहयोग गर्नु जस्ता कार्यले राज्यले चेतन मनद्धारा नै बलि प्रथालाई प्रश्रय दिइरहेको आभास हुन्छ । नेपाल वायुसेवा निगमद्धारा वोयिङ्ग खराबहुँदा पाइलट, एरोनटिकल इन्जिनियर र निगमका उच्च पदाधिकारीद्धारा संयक्त रुपमा बोकाको बलि दिएको सनसनीपूर्ण घटना पनि ताजा नै छ । प्रधानमन्त्री जस्ता राज्यका उच्च पदाधिकारीद्धारा प्रधानमन्त्री निवास प्रवेश गर्नुपूर्व कालो बोको बलि दिनु तथा भैंसी पूजा गर्नु जस्ता लज्जास्प्रद कार्यले नेपाली समाजमा अन्धविश्वासमा आधारित कुरीति तथा कुप्रथाहरूलाई बढावा दिइरहेका छन् । तेस्रो कारण, धार्मिक व्यक्ति तथा संघसंस्थाहरूबिच एकमत नहुनु हो ।
केहि धार्मिक व्यक्ति तथा संस्था बलि प्रथाविरुद्ध उभिएका छन् भने केहि परम्परको जर्गेणा गर्ने नाममा बलि प्रथालाई निरन्तरता दिनु पर्ने पक्षमा उभिएका देखिन्छन् । यसलाई समलोचनात्मक दृष्टिबाट हेर्दा रुढिवादी तथा कर्मकाण्डीय पक्षलाई अँगिकार गर्ने धार्मिक व्यक्ति वा संस्था बलि प्रथाको पक्षमा उभिएका देखिन्छन् भने अर्कातर्फ आध्यात्मिक पक्षलाई अँगिकार गर्ने तथा समयानुकूल सँस्कार÷सँस्कृति परिवर्तन वा परिमार्जन हुनुपर्छ भन्ने सोंच राख्ने धार्मिक व्यक्ति वा संस्था चाँहि बलि प्रथाको विरुद्धमा उभिएको देखिन्छ ।
अहिले हामिले परम्परा र संस्कारका नाममा जे जति गर्दै आएका छौ त्यो सवै कुआस्था र कुविस्वास मात्र हो । आस्था र विस्वास छ सवै छ , भगवान छ , हामिले श्रध्दा र भक्तिले चढाएको देवीदेवताले ग्रहण गर्छ अनि हामिलाई आशिरवाद पनि दिनु हुन्छन् । त्यसैले हामी देवी देवताका नाममा फुल, नैबद्य, र मांशाहारी अनि तन्त्र र शक्ति साधना विस्वास गर्नेहरुले पशु बलि समेत दिने प्रथालाई कायम गरिदै आएका छन् । हो मासु खानैका लागि मात्र मन्दिरमा लगेर परम्परा अनि श्रध्दा भक्तीका नाममा आडम्बरितामा बली पुजा गर्दै बोका काट्न लगायर मासु खानु र बली दिने कार्य परम्परा र धर्म संस्कार बिपरित छ । यो धर्मको नाममा कलंक मात्र हो ।
हिन्दू धर्मलाई सनातन धर्म पनि भनिन्छ। जुगौदेखि चलिआएको भएकालाई यसलाई सनातन धर्म भनिएको जान्ने बुझ्नेहरूको मत छ। वेद, उपनिषद तथा पुराणहरूलाई आधार मान्दै विभिन्न सम्प्रदाय समेट्ने समावेशी जीवनपद्धतिको अर्को नाम हो हिन्दू। विश्वको प्राचिन मत हो हिन्दू। प्रतिशतका आधारमा संसारमै सबैभन्दा धेरै हिन्दू भएको देश नेपाल हो। शंख्याको आधारमा सबैभन्दा धेरै हिन्दू मतालम्वीहरू भएको देश भारत हो। ‘हिंसायाम दूयते या सा हिन्दू’ भनिन्छ। जसको अर्थ हो, जो आफ्नो मन, वचन र कर्मले हिंसाबाट टाढा छ उही नै असल हिन्दू हो।
तपोभूमि नेपालमै जन्मेका महामानव गौतम बुद्धलाई कतिपय हिन्दूजन भगवान विष्णुको अवतार मानी पुज्छन्। संसारमा अत्याचार र पापाचार बढेका बेला भगवानको बेलाबेला पुर्नजन्म हुने कुरा श्रीमद्भागवतमा छ। बौद्ध दर्शनको अष्टाङ्गमार्ग अन्तर्गत हिंसालाई खराव कर्म भनिएको छ। संयक आजीविका अन्र्तगत मांस वणिज्जा, पशुवणिज्जा, शस्त्रवणिज्जा अर्थात् माशु, पशु र काटमार गर्ने शास्त्रको व्यापारलाई निषेध गरिएको छ। भगवान गौतम बुद्धले मांशभोजन गर्ने व्यक्ति कोही पनि आफ्नो चेला हुन नसक्ने समेत स्पष्ट रुपमा बताउनु समेत भएको छ।
सबै सन्दर्भको सार हो, हामी कमाउने नाउँमा, ज्यान हाल्ने नाममा, कतिपय ठाउँमा भगवानकै नाम लिएर प्राणीहत्या गरिरहेका छौँ र धर्मको खिल्लि उडाइरहेका छौँ। हामीलाई वर्षौँदेखी त्यस्तै चलन र स्वाद सिकाइयो। हामीलाई त्यही सही लाग्दै गयो। हामी स्वाद र चलनमा अल्मलिँदै गयौँ। तर थोरै प्रयास गर्ने हो भने हाम्रो सनातन करुण दर्शनको पालना हुनेछ। फेरि मासु नखाँदा शरीरलाई कुनै हानि छैन। विज्ञानले धेरै अघि प्रमाणित गरिसकेको छ कि वनस्पतिबाट प्रोटिन, भिटामिनलगायत आवश्यक तत्व वनस्पतिबाटै सम्भव छ।
धर्मको मूल अहिंसा हो। त्यो अहिंसा धर्मलाई मनले खुब चिन्तन गरी विचार गर्नु। पुनः यो अहिंसा धर्मलाई कर्मले र वचनले सम्यक आचरण गर्नुपर्छ।पूजाउपासनाको निहुँमा अबोध प्राणीको हिंसा गर्नु मातृस्वरुप, न्यायस्वरुप, वात्सल्यस्वरुप एवं शक्तिस्वरुप देवीदेवताको घोर अपमान होइन ? आफूमा भएका वा जगतमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता दुर्गुणहरुलाई जस्ताको तस्तै राखी बिचरा ती ईश्वरका लाटासुधा, निरीह, अबोध प्राणीहरुमाथि खुँडा, खुकुरी, तरबार, चुप्पी र अन्य के के हो के के हतियार चलाउनु मूढता होइन ? कायरता होइन ?
अन्याय, अत्याचार र आसुरी भाव एवं हिंसक वृत्तिलाई नष्ट गरी दीनहीनजनको रक्षा गर्ने जसको संकल्प छ उनै ईश्वरको नाममा अबोध, अबुझ प्राणीमाथि खुँडा र खुकुरी चलाउनु के धर्मसम्मत कुरा होला ? यो त वात्सल्यकै घोर अपमान भएन ? के यस्तो भक्ति हुनसक्ला ? के यस्ता प्रकारको आसुरी पूजाले देवीदेवता खुसी होलान् भन्ने सम्झने ! के कुनै छोराछोरीको हत्या आमाबाबुले आफ्नै सामु भएको देख्न सक्लान् या चाहलान् ? सोच्दा मात्र पनि जीउ सिरिङ्ग गर्छ। तैपनि कतिपय मानिसहरु यसैलाई अनमोल धर्म, संस्कृति, परम्परा र संस्कार सम्झेर रमाइरहेका हुन्छन्। बिना चेतना यस्तो घोर अन्धकारबाट मानिस बाहिर निस्कन सक्दैन।
पशुबलि अन्त्य गर्नका लागि साँस्कृतिक पुर्नजागरण कार्यक्रमलाई अभियान कै रूपमा लग्नु पर्ने आवश्यकता देखिन्छ । तर पशुबलि प्रथालाई सधैं सधैंका लागि निमिट्यान्न वा उन्मूलन गर्नका लागि हामीले आफूभित्र रहेको कुप्रवृत्ति तथा अमानवीय गुणको बलि दिनसक्नु पर्छ । यसो गर्न सकेमा मात्र शान्तिपूर्ण र सभ्य समाजको निर्माण गर्न सकिन्छ । विश्व जनमञ्चलाई सभ्य र सु–संस्कृत भई संपूर्ण प्राणी हाम्रै सन्तान भन्ने नारा स्थापित गरौं । धार्मिक पाखण्ढता तथा रुढीवाद विरुद्ध एक हौं ।दशैँलाई साधनाको पर्व, आफूमाथि विजय गर्ने अनुपम पर्व, पारस्परिक सदभाव र सम्मानको पर्वको रुपमा विकसित गर्दै लाने हो भने यसको नाममा हुने गरेको पशुबलिको कलंकलाई मेटाउन चेतना बढाउँदै लग्नु नितान्त आवश्यक छ। (उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)

