–लक्ष्मण उप्रेती
१. प्रस्तावना
नेपालमा कम्युनिस्ट आन्दोलनले लामो इतिहास बोकेको छ। तर इतिहासमा अवसरवाद, संशोधनवाद र संसदीय पूजीवाद्ले गर्दा पार्टीहरू सिद्धान्तहीन, वर्गविहीन र जनविरोधी दलाल पुजीवादमा पतन हुँदै गएका छन्। जनताले बारम्बार विश्वास गरेका कम्युनिस्ट नेताहरु सत्तामुखी, भ्रष्ट र प्रतिक्रियावादी अखडाका पात्र बनेका छन। यस्तो अवस्थामा, सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीको पुनर्गठन आजको ऐतिहासिक आवश्यकता बनिसकेको छ।
२. परिस्थिति र समस्याको संक्षिप्त मूल्याङ्कन
२.१ सैद्धान्तिक विचलन:-
वर्तमानमा कम्युनिस्ट पार्टीहरूले मालेमाको सिद्धान्तलाई नामको लागि मात्र बोक्ने गरेका छन्,तर व्यवहारमा तिनको वैज्ञानिक र क्रान्तिकारी उपयोग गरेका छैनन्। सिद्धान्तको सृजनात्मक विकास होइन, खण्डन वा व्यापार भएको छ।
२.२ संसदीय पतन
संसदलाई क्रान्तिको माध्यम होइन, अन्तिम लक्ष्य मान्ने प्रवृत्तिले पार्टीहरूलाई दलाल पुँजीवादसँग गासेको छ। वर्ग संघर्षको नेतृत्व गर्ने हैसियत गुमिसकेको छ।
२.३ संगठनात्मक विकृति
पार्टीहरू संगठन होइन, चुनावी क्लब बनेका छन्। नेताहरू उत्पीडित वर्गबाट आएका छैनन्, प्रभुत्ववर्गबाट उदाएका र एनजिओ मानसिकता बोकेका छन्। कार्यकर्ता–नेताको सम्बन्ध समान नभएर , पुँजीवादी शैलीमा मालिक र कामदार जस्तो भएर गएको छ।
३. पुनर्गठनको वास्तविक उद्देश्य:
जनताको मुक्ति, वर्गविहीन समाज निर्माण, समाजवाद हुँदै साम्यवादतर्फ यात्रा गर्ने राजनीतिक संगठन निर्माण गर्नु हो।
यसका लागि,
*सिद्धान्तमा स्पष्ट र प्रतिबद्ध पार्टी निर्माण
*वर्गसंघर्षको नेतृत्व गर्ने राजनीतिक कार्यदिशा निर्माण
*जनपृय, सशक्त, अनुशासित संगठन निर्माण
*श्रमिक वर्ग, किसान, महिलाहरू, दलित र उत्पीडित समुदायहरूबाट नेतृत्व निर्माण
४. पुनर्गठनको आधार
४.१ सैद्धान्तिक आधार
* मालेमाको सिद्धान्तको सृजनात्मक प्रयोग
* नेपाली समाजको वैज्ञानिक विश्लेषण
* नयाजनवादी क्रान्तिको कार्यभार पुरागर्दै बैज्ञानिक समाजावाद निर्माणको कार्यदिशा
४.२ सांगठनिक आधार
* लोकतान्त्रिक केन्द्रीयतामा आधारित पार्टी संरचना
* श्रमजीवी जनतासँग जोडिएको संगठन
* अनुशासित, प्रतिबद्ध र निरन्तर शिक्षित कार्यकर्ता संरचना
४.३ राजनीतिक कार्यदिशा
* दलाल संसदिय पुँजीवाद र साम्राज्यवादविरुद्धको प्रतिरोध
* संसदीय गोलचक्करबाट मुक्त
* जनसंघर्ष, जनविद्रोह र जनसत्ताको निर्माण
* वर्गीय चेतनासहितको संस्कृति, शिक्षा र राजनीति
५. प्रारम्भिक कार्यदिशा र कार्यक्रम
१. वैचारिक स्पष्टताको लागि राजनीतिक प्रशिक्षण अभियान
२. वर्ग संघर्षको नेतृत्व गर्न जनसमुहसङ्ग गासिएको शृजनात्मक कार्य
३. सिद्धान्त र कार्यनीति स्पष्ट पार्ने दस्तावेज निर्माण र बहस
४. वर्गीय एकताका लागि क्रान्तिकारीहरूबीच एकता संयोजन समिति गठन
५. संगठन निर्माणका लागि स्थानीय–क्षेत्रीय कमिटी पुनर्संरचना
६. जनमूलक प्रचार अभियान : क्रान्तिकारी चेतना प्रवाह गर्ने कार्यक्रम
६. निष्कर्ष
नेपालको कम्युनिस्ट आन्दोलन पुनः एकपटक आफ्नो वैचारिक, राजनीतिक र सांगठनिक पुनर्गठ्न गर्नुपर्ने ऐतिहासिक परिस्थितिमा उभिएको छ। हामी दलाल संसदीय पूजीवादको विकल्प खोजिरहेका लाखौं जनताको सपना बोकेर अगाडि बढ्दैछौं।
* यो पुनर्गठन व्यक्तिको नेतृत्व होइन, वर्गको प्रतिनिधित्व हो।
* यो पुनर्गठन सत्ता हत्याउने प्रतिस्पर्धा होइन, जनताको सशक्तिकरणको प्रक्रिया हो।
* यो पुनर्गठन कथित एकता होइन, सैद्धान्तिक स्पष्टतामा आधारित क्रान्तिकारी निर्माण हो।
हामी यही प्रस्तावनालाई एकताको आधार बनाउँदै सम्पूर्ण सच्चा क्रान्तिकारी, प्रतिबद्ध, श्रमजीवी वर्गबाट आएका ,लामो संघर्स,त्याग र समर्पणवाट अगाडी बढ्नु भएका साथीहरूलाई आह्वान गर्दछौं की
आउनुहोस्,
क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माणमा ऐतिहासिक जिम्मेवारी सम्हालौं!
जनवादी कार्यभार पूरा गर्दै बैज्ञानिक समाजवादको गौरवान्वित यात्रा तय गरौ!!

