काठमाडौं, साउन ६ –
नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्ष २०८१/८२ मा २० खर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, सो अवधिमा कुल २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ बराबरको आयात-निर्यात कारोबार भएको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १९.२४ प्रतिशतले बढी हो।
भन्सार विभागका अनुसार अघिल्लो वर्ष सोही अवधिमा १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापार भएको थियो। व्यापार वृद्धिको मुख्य कारण आयात र निर्यात दुबैमा देखिएको उल्लेखनीय वृद्धि हो।
गत आर्थिक वर्षमा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढी हो। अघिल्लो आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँको आयात भएको थियो।
त्यसैगरी, निर्याततर्फ उल्लेखनीय सुधार देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ८१.८० प्रतिशतले बढी हो। अघिल्लो आवमा मात्र १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो।
यद्यपि, निर्यात वृद्धिका बाबजुद पनि नेपालले ठूलो व्यापार घाटा व्यहोर्नुपरेको छ। भन्सार विभागका अनुसार गत आवमा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँको व्यापार घाटा भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले बढी हो। अघिल्लो आवमा व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ थियो।
विश्लेषकहरूका अनुसार, निर्यातमा सुधार हुनु सकारात्मक संकेत भए पनि समग्र व्यापार असन्तुलन गहिरिँदै जानु अर्थतन्त्रका लागि चुनौतीपूर्ण पक्ष हो। निर्यात प्रवर्द्धन गर्ने नीतिगत पहल र आयातमा व्यवस्थापन नगरेसम्म व्यापार घाटा न्यूनिकरण असम्भव देखिन्छ।

