नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।
यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न शुक्रबार बिहान ८ बजे नै बोर्ड बैठक बोलाएको छ। मौद्रिक नीति पारित गर्ने मुख्य एजेण्डा राखेर राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको हो।
कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।
मौद्रिक नीतिका बारेमा अर्थविद् एवम् सरोकारवालाहरूले फरक फरक धारणा राख्दै आएका छन् । गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरिसकेका छन् भने भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् । राष्ट्र बैंकले शेयर बजार, घरजग्गा, हायरपर्चे कर्जा र चालुपूँजी तथा ओभरड्राफ्ट कर्जामा समेत केहि लचकता अपनाउने भएको छ।
मौद्रिक नीतिले शेयर धितो कर्जाको जोखिम भार घटाउने भएको छ भने शेयर धितो कर्जाको सीमामा समेत पुनरावलोकन गर्ने तयारी रहेको बताईएको छ । लगानीकर्ताले विगत ३ वर्षदेखि शेयर धिता कर्जाको सीमा हटाउनुपर्ने र जोखिमभार घटाउनुपर्ने माग गर्दै आएका छन्। तर राष्ट्र बैंकले ती व्यवस्थामा केहि संशोधन गरे पनि पूर्ण रुपमा भने क्याप हटाएको छैन।

