–विश्वनाथ खरेल
फागु भनेको फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रंग छ्यापेर तथा अबिर दलेर नाच्ने गाउने गरी विभिन्न किसिमका रंगहरुले एक अर्कोमा रमाइलो मनाउने उत्सव हो । यही उत्सवलाई फागु अर्थात होली नामबाट चिनिन्छ । यस पर्वलाई फागु वा होली भनेर उच्चारण गर्नुका पछाडि फागुन महिनामा पर्ने धेरै चाडहरु मध्ये यो पर्व एउटा रमाइलो चाड हो । यो पर्व होलीका नामकी राक्षसलाई मारेको खुशीमा मनाइने पर्व भएकोले होली या फागु भनिएको हो भन्ने कींवदन्ती छ । यसरी होलीका मरेको उपलक्ष्यमा सवैले खुशीयाली मनाउन होली खेल्ने चलन शुरु भएको कुरा भविष्य पुराणमा उल्लेख छ । यसर्थ वर्षमा एकचोटी आउँने चाड सभ्य तरिकाले कसैको इच्छाविपरित रंग नलगाएर आफू आफूमा मात्र खेल्यौ भने मात्र सही अर्थमा होलीको महत्व रहन्छ । यो पर्व नेपाल र भारत लगायत विश्वभरी नै रमाइलो गरी मनाउने गरेको पाइन्छ ।
नेपाली समाजमा फागु पर्वलाई विशेष उल्लासमय वातावरणमा मनाउने गरिन्छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्व यस वर्ष यही फागुन २९ गते बिहीवार परेको छ । तर पूर्वको सुरुवात भने एक साताअधि अर्थात फागुन शुक्ल अष्टमीदेखी हुने गर्दछ । फागु पर्वले नयाँ उत्साह, जोस, जाँगर र नवीन ऊर्जालाई छताछुल्ल गरी सामाजिक एकता र सद्रभाव मैत्री र भाइचारा जगाउने गर्दछ । यो पर्वमा भन्ने नै हो भने उराठलाग्दो चिसो मौसमलाई बिदा गर्दै बसन्तको सिर्जनात्मक बिहानी बोकेर आउने एकसाता लामो फागु उत्सवको उष्कर्ष फागु पूर्णिमा नै हो । यसमा पनि सबै जाति, सबै धर्म, सम्पूर्ण संस्कृति प्रेमीको यो सिङ्गो चाड हाम्रो तराई क्षेत्रमा त झनै विशेष धूमधामका साथ मनाइन्छ । यसलाई मिथिलाञ्चलको जनकपुरदेखि सम्पूर्ण समथर भू–भाग र काठमाडौं उपत्यकालगायत पहाडी पवित्र होली उत्सवले चिनिने फागु पर्वलाई ‘चिरदाह’ को रुपमा पनि लिइन्छ । असत्यमाथि सत्यको विजय, कुण्ठा, ईष्र्या र वैमनस्यतामाथि सरल, सहज, द्वेषरहित र स्नेहको विजय उत्सवको रुपमा लिइने यस पर्वलाई मिथिली भाषामा ‘संमत जलाउने’ पनि भनिन्छ । विशेषगरि युवापुस्ताको लागि रङ्गिन र जीवन्त यो महोत्सव होलिका महोत्सवले पनि चिनिएको छ ।
हाम्रो यहाँ फागु पर्व विभिन्न नामले मनाइन्छ । फगुवा, होली, होरी आदि नामले मनाइने यो पर्वलाई रङको उत्सव एवं आपसी सद्भावको महान पर्व भन्दा फरक पर्दैन । यसलाई होली एवं फागु पर्व नेपाल र भारतमा मात्र नभएर विभिन्नरुपमा विश्वभरी नै धूमधामसँग मनाइन्छ । फलतः नेपाल र भारतमा भने एकै प्रकारले प्रेम, सद्भाव प्रकट गरी रङ, अबीर दलेर रङ्गीन पानी छ्यापेर, शुभकामना आदानप्रदान गरेर नाचगान गरी मनाउने गर्दे आइएको छ । यो चीन, जावा, श्रीलङ्कामा आगोको पूजा अर्चना गरी फागु पर्व मनाइन्छ । त्यस्तैगरी बर्मा, थाइल्यान्डमा पानीको पूजा अर्चना गरी वौद्ध मठमा गएर भिक्षुलाई दान दिई यो पर्व मनाउने गरिन्छ । त्यस्तै थाइल्यान्डमा ‘साक्रान’ र बर्मामा ‘टिंगुला’ नामको यो पर्व प्रचलित छ । त्यसरी नै जर्मनीमा इष्टरकारुपमा रङ्गीन पानी छ्यापेर नाचगान गरी यो पर्व मनाइन्छ भने इजिष्ट, जापान, सुमात्रा आदि देशमा नाचगान गर्दै नयाँ अन्नको स्वागत गरी पर्व मनाउने गरिन्छ । यो युनानमा यो पर्व मनाउन आगो बालेर नाचगान गरिन्छ भने स्वीडेन, फ्रान्स, इटली, पोल्यान्डमा विशेष गरी नाचगान रमाइलो गरी मनाइन्छ । यसबाट फागु पर्वलाई एउटा खुसियालीको विश्वव्यापी रङ्गीन पर्व मान्न सकिन्छ । तर हाम्रो मुलुकमा भने विशेष गरी पहाडी भेगमा पूर्णिमाको दिनमा र तराईमा पूर्णिमाको भोलिपल्ट धूमधामका साथ मनाइन्छ । त्यस्तै गरी मुलुकका सुदुरपश्चिमका थारु एवं थकाली सम्प्रदायले ठूलो महत्वका साथ मनाउने गर्दछन् । यसमा पनि थारुहरु फागु पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाउँछन् ।
अन्तमा भन्नुपर्दा प्राचीन कालदेखि मनाउंदै आएका विभिन्न चाडपर्वहरुमध्ये फागु वा होली पनि एउटा विशेष महत्वको चाड हो । वस्तुतः फागुन शुक्ल अष्टमीका दिन चीर गाडी अबीर छरेर पूजा गरी सुरु गरिने चाड पूर्णिमाको रातमा चीर बालेपछि समाप्त हुन्छ । यो मुख्य होलीको दिन एक आपसमा अबीर दलादल गर्ने र मीठामीठा कुराहरु खाने चलन छ । यस फागुन शुक्ल पूर्णिमाका दिन आफन्तहरुबीच रंग र अबीरले रंगिएर बडो हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा अर्थात होलीको प्रचलन कसरी आयो त भनी खोतल्ने हो भने विभिन्न धार्मिक कथाहरु भेटिन्छन् जसको कारणले होली पर्व चलेको छ । मूलतः प्राचीनकालमा हिरण्यकश्यपु नामक राक्षसका प्रल्हाद नाम गरेका छोरा थिए, तर बाबु पापिष्ट राक्षस भए तापनि छोरा प्रल्हाद भने बडो विष्णुभक्त थिए । तसर्थ बाबुले आफ्नो छोरालाई विभिन्न कोसिस गरेर आफ्नो बाटो अगाल्न लगाउँदा पनि भगवान् विष्णुको भक्त प्रल्हादको डेग नचलेपछि आफ्नी बहिनी होलीकालाई हिरण्यकश्यपुले छोरा प्रल्हादलाई आगोमा हालेर मार्न लगाए । तर प्रल्हादको विष्णुभक्तिले गर्दा आगोले नजल्ने तपस्या पाएकी होलीका उल्टै भष्म भईन भने प्रल्हादलाई आगोले केही गर्न सकेन । सोही खुसीयालीमा होलीपर्व चलेको हो भन्ने किम्वदन्ती छ । तर हाम्रो देशमा हिजोआज फागु पर्वभित्र विकृति देखा पर्न थालेको छ । फागु पर्व आउनुपूर्व नै पानी भरेर लोला हान्ने गरिन्छ । यसमा पनि लोला हान्नु असभ्यता हो । कुनै पनि मानिसको इच्छा विपरीत लोला हान्नु, रङ दल्नु फागु पर्वको विशेषता होइन । यस्ता किसिमका मनका खराब भावलाई हटाएर, एकापसमा सम्बन्ध स्थापित गर्न रङ दलेर होली खेल्नुलाई यस पर्वको विशिष्टता मानिन्छ । त्यसैले, अन्तर कुन्तरमा लुकेर लोला हान्ने गर्नु असभ्यता हो, सोधेर, खुसियालीमा उमङ्ग वातावरणमा होली खेल्नु पर्दछ । जसमा भन्ने नै हो भने आफूभित्र भएको गलत प्रबृत्तिलाई त्यागेर सुमार्गतिर अभ्रिप्रेरित हुन फागु पर्वले निर्देश गरेको देखिन्छ । जुन फागु धार्मिक, सामाजिक, पौराणिक, आयुर्वेदिक सबै दृष्टिले उत्कृष्ट पर्व हो । यसमा खराव प्रवृत्तिलाई त्यागेर सत्मार्गतिर लाग्नु र विजय देखाउनु फागु पर्वको मूल आशय पनि हो । यसरी संस्कृति र सभ्यता समेतलाई नराम्रो गोरेटोमा धकेल्न थालेको फागु पर्वसम्वन्धी विसंगतिविरुद्व एकजुट हुनुपर्ने वर्तमान अवस्था हरेक परिवारका खासगरी अभिभावकवर्ग विशेष सजग सचेत हुनु अतिजरुरी देखिन्छ । यो पर्व वर्षमा एकचोटी आउँने चाड सभ्य तरिकाले कसैको इच्छाविपरित रंग नलगाएर आफू आफूमा मात्र खेल्यौ भने मात्र सही अर्थमा होलीको महत्व रहन्छ ।

