काठमाडौँ । सङ्खुवासभाको खाँदबारीमा प्रगतिशील लेखक सङ्घ (प्रलेस) को चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ। अधिवेशनले साहित्यकार ताराबहादुर बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
प्रगतिशील लेखक संघ कोशी प्रदेश अध्यक्ष तिला लेकालीको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा केन्द्रीय सदस्य बोधकुमार घिमिरे, प्रदेश सचिव राजेन्द्र सर्वहारा, उदयपुर जिल्ला सचिव फणिन्द्र विश्वकर्मालगायतको उपस्थिति रहेको थियो। अधिवेशनको उद्घाटन सत्र लक्ष्मी ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष खड्गबहादुर राई, नेकपा माओवादी केन्द्रका जिल्ला सह-इन्चार्ज कृष्ण जिमी ‘भरत’, नेकपा (समाजवादी) का जिल्ला अध्यक्ष मानसिंह पोखरेल, जसपा नेपालका जिल्ला अध्यक्ष सिताराम तिम्सिना लगायत विभिन्न दलका नेताहरूको समेत उपस्थिति थियो।
वरुण बहुमुखी क्याम्पस प्रमुख चित्रलेखा अधिकारी, हिमालय किरण क्याम्पस प्रमुख टीकाराम श्रेष्ठ, शिक्षक महासंघ अध्यक्ष शेरबहादुर पुरी, शिक्षक संगठन उपाध्यक्ष रामप्रसाद लम्साल, योगमाया विश्वविद्यालयका अभियन्ता डा. मातृकाप्रसाद तिम्सिना लगायत तीन दर्जनभन्दा बढी स्रष्टाहरूको सहभागिता रहेको थियो।
बन्द सत्रबाट साहित्यकार ताराबहादुर बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ।
जसमा सचिव सनम थापा ,सहसचिव कविराम गुरुङ र कोषाध्यक्ष – तारा घिमिरे चयन भएका छन् ।
सदस्यहरू साहित्यकार वीरेस राई, साहित्यकार कृष्ण चापागाई, साहित्यकार गीताञ्जली कटुवाल र पार्वती नेपाली छन् ।
केन्द्रीय प्रतिनिधि लक्ष्मी ढुङ्गाना, प्रदेश प्रतिनिधि राजेन्द्र सर्वहारा निरौला, कृष्ण बहादुर चापागाई छन् ।
नवनिर्वाचित अध्यक्ष ताराबहादुर बुढाथोकीले नेपाली साहित्य र संस्कृतिमा देखिएको विकृति विरुद्ध संघर्ष गर्दै जनवादी संस्कृतिको निर्माणलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, प्रगतिशील विचारलाई सहकार्य र एकताका आधारमा अघि बढाउँदै समाज परिवर्तनका निम्ति लेखन कार्यलाई सक्रिय बनाउने उद्घोष गरे ।

