फागुन शुक्ल पूर्णिमाको दिन मनाइने होली पर्व आज हिमाली र पहाडी जिल्लाहरूमा खुसीसाथ मनाइँदै छ।
वसन्त ऋतुको आगमनसँगै मेलमिलाप र सद्भावनाको सन्देश बोकेर आउने यो पर्वमा विभिन्न रङ र लोला खेल्ने परम्परा छ। काठमाडौँको वसन्तपुरमा आज मानिसहरूले वातावरणलाई रङ्गीचङ्गी बनाउँदै चीरलाई ढालेर टुँडिखेलमा लगी जलाउँछन्। चीरमा राखिएका ध्वजापताकालाई औषधिको रूपमा लिने र चीरको खरानीको टीका लगाउने चलन छ, जसले अनिष्ट हट्ने विश्वास गरिन्छ।
फागुन शुक्ल अष्टमीमा वसन्तपुरमा मैलको रुखलाई रङ्गीचङ्गी बनाएर चीर गाडिन्छ र पूजा गरेपछि होली सुरु हुन्छ। आज राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई चामलको भात र राँगाको मासु खुवाएर सैनिक अस्पतालको ‘जधु’ धारामा चुठाउने परम्परा छ। द्वापरयुगमा श्रीकृष्णलाई मार्न पठाइएकी राक्षसनी पुतनाको कथा पनि यो पर्वसँग जोडिएको छ। उनलाई व्रजवासीले जलाइदिएपछि फागु मनाउने परम्परा बसेको मानिन्छ।
राम्ररी तयार पारिएका रङ र अबिरले छालाको रोग हटाउने र शीतकालको कफ नाश गर्ने विश्वास छ। चीरको धुवाँले रोगका कीटाणु नष्ट गर्ने भएकाले यो पर्वको आयुर्वेदिक महत्त्व पनि छ। सरकारले यो पर्वमा सार्वजनिक बिदा दिने गर्छ। तराईमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाइन्छ।
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले आफ्ना विष्णुभक्त छोरा प्रह्लादलाई मार्न बहिनी होलिकालाई आगोमा पस्न लगाए। आगोले नछुने वरदान पाएकी होलिका आफैँ जलेर मरिन्, तर प्रह्लाद बच्न सफल भए। त्यसैले होलिकाको दुरुपयोगको प्रतीक मानेर होली मनाउने परम्परा चलेको मानिन्छ।

