– प्रा.डा. शत्रुघन श्रेष्ठ
नेपालमा विभिन्न बैंक तथा बित्तीय संस्थाहरुको निष्कृया कर्जा बिगत ३ वर्षदेखि बृद्धि हुँदै आईरहेको छ । बिगत ३ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने वाणिज्य बैंकहरुको निष्कृय कर्जा वृद्धि हुँदै आईरहेको छ । वि.सं. २०७९ असारमा औसत (Average) १.१८% प्रतिशत रहेको निष्कृय कर्जा २०८० असारमा औसत २.८० प्रतिशतमा पुगेको छ । २०७९ असारको तुलनामा हेर्ने हो भने २०८० असारमा औसत वृद्धि ३.५४ प्रतिशतमा पुगेको छ ।
विभिन्न वाणिज्य बैंकहरुको निष्कृय कर्जाको वर्तमान अवस्था यस प्रकारको रहेको छ । २०७९/८० को वित्तीय प्रतिवेदनको आधारमा
बैंक निष्कृय कर्जा (NPL) प्रतिशत
कुमारी ६.९६
लक्ष्मी सनराईज ५.६७
प्रभु बैंक ५.०६
नेपाल बैंक ४.९९
हिमालयन बैंक ४.९८
प्राइम कमर्सियल बैंक ४.९६
कृषि विकास बैंक ४.९०
ग्लोबल आईएमइ बैंक ४.८६
सिटिजन्स बैंक ४.८५
माछापुछे्र बैंक ४.५४
सिद्धार्थ बैंक ४.५०
एन.एम.बि. ३.९६
राष्ट्रिय वाणिज्य बैंक ४.९६
नेपाल एसबिआई बैंक ३.५५
स्टान्डर्ड चाटर्ड बैंक १.७१
नबिल बैंक ४.९३
एनआईएमबि ५.८६
सानिमा बैंक ३.२२
एनआईसी एशिया ४.६१
एभरेष्ट बैंक ०.६६
निष्कृय कर्जा बढ्नुका कारणहरु
१. कोभिड १९
२. कर्जा प्रवाहमा दवाव
३. घर जग्गाको कारोबारमा सुस्तता
४. विभिन्न प्रकारका सहकारी क्षेत्रमा संकट आउनु
५. न्यून पुँजीगत बजेट र खर्च
६. अनुत्पादक (Unproductivity) का क्षेत्रमा कर्जा प्रवाह हुनु
७. बैंक तथा वित्तीय संस्थाहरुले थप कर्जा प्रवाह नगर्नु, क्षमतामा ह्रास आउनु र बजारमा कर्जाका माग नहुनु ।
बैंकिङ्ग क्षेत्रमा हाल वृद्धि भएको निष्कृय कर्जाले विकराल समस्या त ल्याउने देखिदैन तर निरन्तर बढ्दै गएमा बैंक तथा वित्तीय संस्थाहरुमा ठूलो जोखिम निम्त्याउँछ । नियामकीय निकायलाई सुपरिवेक्षकीय कामको भार बढ्न जान्छ । एकै पटक बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा रहेको सुरक्षण धितो लिलामी प्रकृयामा जाँदा अधिक आपूर्ति हुन जाने जोखिम रहन जाने हुन्छ ।
निष्कृय कर्जा बढ्दा बैंक तथा बित्तीय संस्थाका आम्दानीमा, खुद नाफा, प्रतिशेयर आम्दानी (EPS) मा समस्या आई शेयर लागनीकर्ताहरुले प्रत्येक वर्ष पाउनु पर्ने राम्रो लाभांस (Good Returns) पाउन बाट बञ्चित हुनु पर्ने अवस्था आईपर्छ । त्यतिमात्रै नभै बजारमा (पूँजी) बैंकमा शेयरको मूल्यमा गिरावट आउने, पूँजी कोषमा दवाव पर्ने, तरलता व्यवस्थापन गर्न कठिन हुने, क्रेडिट रेटिङ्ग घट्ने र यदि धेरै भन्दा धेरै ऋणीहरु कर्जा भुक्तान गर्न असमर्थ हुँदा यसले प्रणालीगत जोखिम वृद्धि हुनगई बित्तीय संकटसम्म ल्याउन सक्ने सम्भावना उत्तिकै हुन्छ ।
लेखक : विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको शेयरधनी (ठूला) हुन् ।

