–विश्वनाथ खरेल
विश्वको एकमात्र हिन्दू राष्ट्र नेपाल हो । यसलाई साँच्चै भन्ने हो भने संसारमा दुई अर्ब ८ करोडभन्दा बढी हिन्दूहरु रहेका छन् भने हाम्रो देशमा भने ८१ प्रतिशतभन्दा बढी हिन्दूहरु रहेको तथ्यांकले देखाएको छ । वास्तवमा भन्ने हो भने हाम्रो देशमा प्रत्येक दिन एक न एक पर्व या चाड परेको नै हुन्छ । यसै सन्दर्भमा प्रत्येक वर्ष शुक्ल पञ्चमीका दिन जनकपुर धाममा मनाइने विवाह पञ्चमी मेला पनि एक हो । यस मेलामा नेपालको मात्र नभएर छिमेकी मित्रराष्ट्र« भारतबाट हजारौं श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । यस पटक भने राम जानकीको विवाह उत्सव सुरु भएको छ । यसरी सीताराम विवाह महोत्सवको साताव्यापी कार्यक्रम तय भइसकेको छ । यसरी त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच भएको विवाह स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव गत आइतबार नगरदर्शन गरी प्रारम्भ भएको छ । यसर्थ सात दिनसम्म विधिवत् रूपमा मनाइने विवाहपञ्चमीमा प्रत्येक दिन विवाहका विधिहरू गर्ने गरिन्छ । पहिलो दिन राम–सीताको झाँकीले नगर परिक्रमा गर्ने, दोस्रो दिन रामले सीतालाई फूलबारीमा दर्शन दिएको स्मरणमा फूलबारी लीला गर्ने र तेस्रो दिन जनकको सर्तअनुसार धनुष यज्ञको आयोजना गर्ने काम हुनेछ । यसरी नै चौथो दिन राम र सीताका अलग महन्तहरूले तिलक महोत्सव गर्ने र पाँचौं दिन विवाह मण्डप तयारीमा नदीबाट ल्याइएको माटो राखिने मटखोर पर्व मनाइन्छ । त्यसरी छैटौं दिन बाह्रबिघा क्षेत्रमा राम जानकीको डोलालाई स्वयंवरमा सरिक गराउँदै साँझ भव्य विवाह बन्धनमा बाँध्ने परम्परा छ । र सातौं दिन (मंसिर १० गते बुधबार) अर्थात् पञ्चमीको भोलिपल्ट जन्तीहरू बिदाइ गर्ने, उपहार र कोसेली दिँदै उत्सवको समापन गरिने दिन हो । यस अवसरमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्र र आदर्श नारी सीताको विवाह महोत्सवका रुपमा मनाइने विवाह पञ्चमी मेला अरु ठाउँमा पनि मनाइने भए पनि जनकपुरधाममा लाग्ने मेला विशेष प्रकारको हुन्छ । तसर्थ त्रेतायुगमा अध्योध्याका राजा दशरथका पुत्र रामचन्द्र र जनकपुरका राजा जनककी जेठी पुत्री सीताको विवाह जनकपुरधामको विवाह मण्डपमा भएको थियो ।
जनकपुर नगरीलाई सीताको जन्मस्थल मानिन्छ । यसमा सीता अथवा जानकी रामायणकी मुख्य पात्र पनि हुन् । फलतः सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । यसरी सीतालाई आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरण हुन् । सीतालाई सत्चचरित्रता, नारीत्व, मातृत्वाशल्य र करूणाका खानीका रुपमा सम्मान गरिन्छ । अहिले पनि विवाह महोत्सवको गहिरो सम्झना दिलाउन विभिन्न किसिमका धार्मिक विधिबाट यो पर्व सम्पन्न गरिन्छ । यस पर्वका वेला छिमेकी मुलुक भारतका बिहार, उत्तरप्रदेश, मध्यप्रदेश, पश्चिम बंगाल, राजस्थान आदि ठाउँबाट लाखौंको संख्यामा श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गर्दछ । फलतः विवाह पञ्चमीका दिन जनकपुरका गंगा सागर, धनुष सागर र अरगजा सागर लगायतका धार्मिक एवं पवित्र पोखरीहरुमा स्नान गरी जानकी मन्दिर, रामन्दिर लगायत विभिन्न मन्दिरहरुको पूजा, अर्चना गर्दछन् । बेलुकीपख स्थानीय रङ्गभूमि मैदानमा आयोजना गरिने रामजानकी स्वंयम्वर समारोहमा असंख्य भक्तजनहरुको भेला हुन्छ । उक्त अवसरमा भारतको अयोध्या राममन्दिरबाट जन्तीका रुपमा आएका साधु–सन्तहरु, ऋषि, मुनि, महन्त पनि आउँछन् । वैदिक हिन्दू धर्म ग्रन्थ एवं धार्मिक आख्यान अनुसार मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्र र आदर्श नारी जानकीको विवाह त्रेता युगमा जनकपुरमै भएको थियो । वस्तुतः तत्कालीन मिथिला राज्यका राजा जनकको राज्यमा भोकमरी परको थियो । त्यसवेलाका ऋषिमुनिहरुको राय सल्लाह अनुसार राजर्षि जनकले हलो जोत्नु भएकोे थियो । उहाँले हलोे जोत्दाजोत्दै हलोको सियोबाट एक सुयोग्य कन्याको उत्पत्ति भयो । यो तीनै कन्यालाई जानकी भनिन थालियो । ती कन्या पनि विस्तार विस्तारै किशोरी अवस्थामा पुगिन् । एकदिनको कुरा हो राजा जनकको पूजा कोठमा शिवधनुष जानकीले एक हातले उठाएर भुइँ पुछ्दै गरेको देखेर राजा छक्क परे र उनले मनमनै कल्पना गरे यिनी त सामान्य नारी होइनन् यिनको लागि त वीर पुरुष नै वर आवश्यकता पर्दछ भन्ने कुरा विचार गरी एउटा प्रस्ताव राखे । यदि जसले यिनीसँग विवाहको प्रस्ताव राख्न आउँछ उसले शिवधनुष उठाएर भाँच्न सकोस् त्यस्तो व्यक्तिसँग मात्र यिनको विवाह योग्य हुन्छ भन्ने प्रस्ताव राखेर यो कुरा सबै ठाउँमा प्रचार प्रसार गर्न लागे । यसरी आफ्नो प्रतिज्ञा अनुसार जानकी वर चयन गर्न जो कोही आएमा उसले शिवधनुष भाँच्न सक्ने प्रस्ताव अनुसार धनुषयज्ञको आयोजना गरे । उक्त यज्ञमा भाग लिन देश विदेशबाट राजा, रजौटा, महाराजा, राजकुमार, वीर, पुरुषहरुको आमन्त्रण गरियो । त्यसै समयमा गुरुकुलमा शिक्षा आर्जन गर्न आएका अयोध्याका राजा दशरथका छोराहरु रामचन्द्र र लक्ष्मणको पनि उपस्थिति थियो । तर उक्त समारोहमा उपस्थित कसैले पनि शिवधनुष उठाउन सकेनन् । त्यो देखेर राजा जनकलाई ज्यादै दुःख लाग्यो र मनमनै भने “मैले धेरै ठूलो भूल गरेछु, मलाई थाहा थिएन कि संसारमा वीर नै छैनन् भनेर”। सोही समारोहमा उपस्थित अयोध्याका राजा दशरथका छोरा द्वय लक्ष्मण र रामलाई असैह्य भयो । त्यसैबेला भाई लक्ष्मणले दाजु रामचन्द्रलाई शिवधनुष उठाउन आग्रण गर्नुभयो । यसर्थ भाईको बचन मानेर उक्त धनुष रामचन्द्रले उठाई ताँदो चढाउन खोज्दा धनुष तीन टुक्रामा विभाजन भयो । जुन राजा जनकको प्रतिज्ञा बमोजिम भगवान् रामचन्द्र जानकीका लागि योग्य वर भए । राजाले शुभ लगन हेरी मार्ग शुक्ल पञ्चमीका दिन अयोध्याबाट जन्तीका साथ आउनु भएका भगवान् राम र जनक नन्दिनी जानकीको विवाह मार्ग शुक्ल पञ्चमीका दिन जनकपुरधाममा सु–सम्पन्न गरी दिनु भयो ।
समग्रमा भन्नुपर्दा हरेक वर्ष शुक्ल पञ्चमीका दिन जनकपुर धाममा मनाइने विवाह पञ्चमीको पर्व महत्वपूर्णको हुन्छ । यसरी नारी र पुरुषबीचको महत्व, समानता, पारिवारीक दायित्व, राज्य नीतिहरु अनि मर्यादाका पाठहरु सिकाएर रामायणले मानव समुदाय र सभ्यतालाई ठूलो गुण लगाएको छ । यसै सन्दर्भमा गुरु विश्वामित्रको आदेशपछि रामले शिवधनुष भंग गरे, जसको तीन खण्डभई एकखण्ड आकाश, दोस्रोखण्ड पाताल र तेस्रोखण्ड उडेर १४ किलोमिटर उत्तर दिशामा धनुषाधाममा झर्यो । जुन अद्यापि विद्यमान र प्रत्येक वर्ष माघमा मकरमेला प्राचीन कालदेखि नै लाग्दै आएको छ । जसमा देश विदेशका विभिन्न भागबाट हजारौं तीर्थयात्री आई सो धनुषको अवशेषलाई बढो आस्थासाथ पूजाआजा गर्छन् । त्यसैले गर्दा यो दिन विवाह पञ्चमीको दिनले अहिलेसम्म पनि हिन्दू धर्मावलम्बिहरुले मनाउँदै आएका छन् । अरु सामान्य व्यक्तिले पनि यस दिनलाई शुभ मुर्हूतको रुपमा विवाह गर्ने चलन अद्यावधिक रहेको छ । यस दिन विवाह गर्न कुनै पनि वरवधुले सहित जुराई रहनु आवश्यकता पर्दैन । यो शुभ दिन नेपाल लगायत भारतका विभिन्न भागमा बसोबास गर्ने हिन्दू धर्मावलम्बिहले विवाह गर्दछन् । यसरी यो महान दिनमा दशरथका चार पुत्रमध्ये जेठा श्रीरामको विवाह जनकपुत्री जानकीको विवाह जनकपुरमा मार्ग शुक्ल पञ्चमीमा भएको प्रसंगले आजसम्म चर्चा पाएको छ । यसैले होला आजसम्म पनि यस महान दिनलाई विवाह पञ्चमीको रुपमा सबैले मनाउँने गर्दछन् ।

