काठमाडौँ । कप्तान दीपेन्द्र सिंह ऐरीले देखाएको घातक बलिङका कारण सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जीत दर्ता गरेको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको डे–नाइट वेस्टर्न डर्बीमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले हराउँदै तालिकामा आफ्नो दबदबा जमाएको हो ।
१४० रनको लक्ष्य पछ्याएको कर्णाली १९.१ ओभरमै ९४ रनमा समेटियो । कर्णालीका लागि पवन सर्राफले २७ र मार्क वाटले १७ रन बनाए । सुरुवातमै २९ रनमै ४ विकेट गुमाएपछि दबाबमा परेको कर्णालीलाई कप्तान सोमपाल कामी र पवन सर्राफको ३४ रनको साझेदारीले केही राहत दियो । तर मध्यमक्रमले नसमाएपछि टोली पूर्ण रूपमा धराशायी भयो ।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान ऐरी ‘स्टार’ बने— उनले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट दिलाए । त्यस्तै हर्मीत सिंहले किफायती बलिङ प्रदर्शन गर्दै ४ ओभरमा १ मेडनसहित १९ रनमा २ विकेट लिए । अविनाश बोहरा पनि २ विकेटसहित प्रभावकारी बने । स्कट कुगेलेइनले ४ ओभरमा केवल ९ रन मात्र दिँदै १ विकेट हात पारे भने हेमन्त धामीले एक विकेट जोडे ।
सुदूरपश्चिमको लगातार उत्कृष्ट प्रदर्शनसँगै एनपीएलको शीर्ष स्थानतर्फ टोलीले आफ्नो दाबी झनै बलियो बनाएको छ ।

