नारायण शर्मा
क्रान्तिकारी कम्युनिस्ट पार्टी र आन्दोलन निर्माण आत्मगत पक्ष हो । यो पक्ष पार्टी, पार्टीका नेता र नेताका दिलदिमागसँग सम्बन्धित छ । त्यसैले सर्वप्रथम त क्रान्ति पार्टी नेताका मनमस्तिष्कमा हुनुपर्छ । नेताका विचार र आचारमा क्रान्ति नभै समाज र राज्यमा क्रान्ति हुन सक्तैन । विचार भनेको एउटा त कुनै वाद-सिद्धान्त हो तर त्यो भन्दा बढी महत्वको अर्को कुरा छ, त्यो हो विचार अनुसारको व्यवहार । त्यो व्यवहार नेताहरुको सोंच्ने तरिकादेखि गर्ने तरिकासम्मका हरेक क्षण र कदममा गरिने कामकार्वाहीहरुमा अभिव्यक्त हुन्छ । हाम्रो सोंच्ने तरिका त्यागवादी छ कि भोगवादी छ ? तपस्यामुखी छ कि सुविधामुखी छ ? बलिदानवादी छ कि आत्मसुरक्षावादी छ ? उदार छ कि संकीर्ण छ ? पारदर्शी छ कि ढोंगी छ ? स्वाभाविक छ कि कृत्रिम छ ? विनम्र छ कि अहंकारी छ ? साहसिक छ कि कायरतापूर्ण छ ? गतिशील छ कि जडवत छ ? सिर्जनशील छ कि यान्तृक छ ? द्वन्द्ववादी छ कि अधिभूतवादी छ ? वस्तुवादी छ कि मनोगतवादी छ ? स्वच्छ छ कि प्रदूषित छ ? सत्यान्वेषण केन्दृत छ कि हठवादी छ ? तथ्य आधारित छ कि तर्क आधारित छ ? यी प्रश्नहरुका उत्तरहरुले नै हामी सच्चा क्रान्तिकारी कम्युनिस्ट हो कि ढोंगी अवसरवादी कम्युनिस्ट हो भन्ने प्रमाणित गर्छन् । यी उत्तरहरुले हाम्रा अन्य सबै कामकार्वाहीहरुका साथै क्रान्तिकारी पार्टी र आन्दोलन निर्माणमा निर्णायक भूमिका खेल्छन् । यदि पार्टी नेताहरुका सोंच्ने र काम गर्ने तरिका अघिल्ला विशेषताहरुमा आधारित छ भने क्रान्तिकारी पार्टी बन्छ, विस्तार हुन्छ, विकास हुन्छ र क्रान्तिकारी आन्दोलन पनि उठ्छ, बढ्छ, विजयी पनि बन्छ र निरन्तर अगाडि बढ्छ । तर यसको विपरीत यदी नेताहरुका सोंच्ने र गर्ने वा बुझ्ने र बदल्ने सोंच वा दृष्टिकोण पछिल्ला विशेषतामा आधारित छ भने क्रान्तिकारी पार्टी र आन्दोलन बन्ने र बढ्ने होइन कि उल्टो भएको पनि बिग्रने र घट्ने हुन्छ । यसरी अन्ततः पार्टी र आन्दोलनको विघटन र विसर्जन नै हुन जान्छ । क्रान्तिकारी विचार-सिद्धान्त बोकेका र जिन्दगी पार्टी र क्रान्तिको लागि लगाएका नेताहरुका लागि यो भन्दा ठूलो अर्को दुखद विडम्बना के हुन्छ ? केही हुँदैन । त्यसैले क्रान्ति गर्ने क्रान्तिकारी पार्टी बनाउने र क्रान्ति सम्पन्न गर्ने भन्ने नेताहरु देस, जनता, पार्टी र क्रान्तिप्रति जिम्मेवार बनेर यसविषयमा गम्भीरतापूर्वक सोंच्ने र गर्ने गर्नसक्नुपर्छ ।
विश्वका सबै देसमा भएका क्रान्तिहरु कुनै पनि देससँग हुबहु मिल्दैनन् । त्यसरी नमिल्नुमा कुनै एक देसको परिवेश, समाजको बनोट, विशेषता र मौलिकता, जनताको मनोविज्ञान, कार्यकर्ताको अनुभूतिको स्तर, बुद्धिजीवीहरुको बुझाइ, समयको ग्याप, अन्तर्राष्ट्रिय परिस्थितिमा आएको फेरबदल, विज्ञान-प्रविधिमा भएको विकास, उत्पादन शक्तिमा भएको परिवर्तन र प्रतिक्रियावादी शासक वर्गको काम-कार्वाही आदि कुराहरु कुनै अर्को देससँग हुबहु नमिल्ने कुराले नै काम गरेको हुन्छ । त्यसैले हामीले हाम्रो देसमा क्रान्ति गर्ने नै हो भने हाम्रै तरिकाले अर्थात हाम्रो आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषण गरेर ठोस नीति, कार्यक्रम, कार्यनीति, कार्ययोजना र कार्यविधि तय गर्ने र कामकार्वाहीमा होमिने गर्नुपर्छ । केबल रौं चिरा कुरा गरेर, तर्कवितर्क र कुतर्क गरेर, पाण्डित्याइँ प्रदर्शन गरेर, वादविवाद र आरोप-प्रत्यारोपमा प्रथम हुन खोजेर कुरैकुरामा अल्मलिएर क्रान्तिका जत्ती राम्रा, मीठा, चर्का र ठुला कुरा गरेपनि क्रान्ति हुँदैन । यस्ता क्रान्तिका कुरा मात्र गर्ने तर काम अर्थात् गुणात्मक रुपले भिन्न, उच्च, नयाँ, राम्रो र क्रान्तिकारी कामकार्वाही नगर्नेहरु असली बातबहादुरहरु र क्रान्तिकारी लफ्फाजहरु मात्र हुन् र अन्ततः ती डायनोसर बन्न पुग्छन् ! त्यसैले हामी सच्चा क्रान्तिकारीहरुलाई क्रान्तिकारी पार्टी र आन्दोलन निर्माणका लागि अहिले कर्मवीर क्रान्तिकारीहरु चाहिएको छ । त्यस्ता नेपाली क्रान्तिकारीहरु हाल जहाँ-जहाँ हुनुहुन्छ, जो जो हुनुहुन्छ वा जो जो त्यस्ता क्रान्तिकारी हुन चाहनु हुन्छ र हुन प्रयत्न गर्नुहुन्छ, ती सबै एक ठाउँमा एकीकृत हुने, ध्रुवीकृत हुने र मोर्चाबद्ध हुने गरेर क्रान्तिकारी आन्दोलनमा केन्द्रीकृत हुनु अत्यन्त जरुरी छ । यसप्रति जो जो शक्ति, समूह, संघसंस्था र व्यक्ति-व्यक्तित्वहरु पूर्ण संवेदनशील, गम्भीर र जिम्मेवार बन्न सक्छन् र क्रान्तिकारी पुनर्गठनको प्रकृयामा जुट्छन् , ती इमानदार क्रान्तिकारी हुन् । तिनले नै क्रान्तिजस्तो महान्, गम्भीर, जटिल र कठिन कार्यभार पूरा गर्ने सामर्थ्य राख्छन् । आशा, विश्वास र कामना गरौं कि ती साहसी सामर्थ्यवान् सच्चा क्रान्तिकारीहरु नै नेपालमा क्रान्तिकारी पार्टी र आन्दोलन निर्माणमा मात्र होइन क्रान्तिमा विजयी बन्न र क्रान्तिलाई निरन्तरता दिनमा समेत सफल हुनेछन् ! चेतना र साहस भया !?
लेखक अखिल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष हुनुहुन्छ।

