२०८२ जेठ २०, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग नेपाल रत्न तथा आभुषण हासंघको एक प्रतिनिधिमण्डलले भेट गरी सुनचाँदी व्यवसायसँग सम्बन्धित समस्या तथा समाधानका उपायहरूबारे छलफल गरेको छ। महासंघका अध्यक्ष श्री किसान सुनारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गभर्नरलाई कच्चा सुनको आपूर्ति सहज बनाउने, कोटा प्रणालीलाई लचिलो बनाउने र प्रभावकारी नीति अवलम्बन गर्ने सम्बन्धमा ध्यानाकर्षण गराएको हो।
प्रतिनिधिमण्डलले विशेषतः साना आकारका सुनका वार आयात गर्न पाउने व्यवस्था, राष्ट्र बैंकको कार्यविधिमा उल्लेख गरिएका प्रावधानहरूको कार्यान्वयन, तथा तोकिएका नाकाहरूबाट सुलभ रूपमा कच्चा सुन उपलब्ध गराउने प्रणाली विकास गर्नुपर्ने प्रस्तावसमेत प्रस्तुत गरेको थियो। गभर्नर डा. पौडेलले महासंघले उठाएका मागहरूलाई सकारात्मक रूपमा लिएको बताउँदै तिनको कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
प्रतिनिधिमण्डलमा महासचिव श्री निर बहादुर विश्वकर्मा, सचिव श्री केशर बहादुर विश्वकर्मा, कोषाध्यक्ष श्री गणेश प्रसाद विश्वकर्मा, सहकोषाध्यक्ष श्री दिपक धनुके, कार्यालय प्रमुख श्री राम महर्जन तथा कैलाली सुनचाँदी व्यवसायी संघका अध्यक्ष श्री मनोज खनालको सहभागिता रहेको थियो।

