काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हालै सार्वजनिक गरेको भिडियो सन्देशप्रति नेकपा एमालेले कडा आपत्ति जनाएको छ । पार्टीको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले शाहको अभिव्यक्तिलाई लोकतान्त्रिक व्यवस्थाविरुद्धको सङ्केत भएको बताउँदै त्यसप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे ।
“पूर्वराजा ज्ञानेन्द्रको सन्देशबाट राजतन्त्र फर्काउने वा हालसम्मका उपलब्धिहरूलाई पछाडि फर्काउने आशा अझै बाँकी रहेको देखिन्छ,” ज्ञवालीले भने, “यस्तो सक्रियता लोकतान्त्रिक मूल्य र प्रणालीविरुद्धको हो, जुन पूर्ण रूपमा गलत छ।”
ज्ञवालीले वैशाख १५ गते तिनकुनेमा भएको हिंसात्मक घटनालाई ‘जनजागरण’ को संज्ञा दिएकोमा पनि आपत्ति जनाए। “सर्वसाधारणको घरमा लुटपाट, सरकारी कार्यालयमा तोडफोड, यसलाई यदि जागरण मानिएको हो भने त्यो अत्यन्त आपत्तिजनक हो,” उनले बताए।
एमालेले वर्तमान लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनै पनि प्रयास अस्वीकार्य र असफल हुने चेतावनी दिएको छ। “देशले स्पष्ट रूपमा लोकतान्त्रिक गणतन्त्रको बाटो समातेको छ। यसलाई उल्ट्याउने प्रयासहरू अवाञ्छित छन् र ती प्रयासहरू सफल हुन सक्दैनन्,” ज्ञवालीले स्पष्ट पारे।
सचिवालय बैठकले भविष्यमा यस्ता गतिविधि नदोहोर्याउन पूर्वराजालाई सचेत गराइएको समेत जनाएको छ।

