–विश्वनाथ खरेल
अर्धरात्रिको बेला, चारैतिर अन्धकार थियो, त्यसैबेला देवरुपिणी देवकीको गर्भबाट पूर्व दिशामा सोह्ै कलाले युक्त पूर्ण भएको चन्द्रमाको उदय भएजस्तो गरेर सबैका हृदयमा विराजमान भगवान् विष्णुको उदय भयो । भगवान् श्रीकृष्ण धरतीमा प्रादुर्भाव भएको यसै दिनलाई श्रीकृष्णजन्माष्टमी भनिन्छ । यो संसारमा भगवान् श्रीकृष्ण धरतीमा प्रादुर्भाव हुनुभएको यसै दिनलाई श्रीकृष्णजन्माष्टमी भनिन्छ । यस दिनलाई वैष्णव धर्मावलम्बीहरु, वल्लभ सम्प्रदाय, चैतन्य सम्प्रदाय, राधाकृष्ण सम्प्रदाय, श्रीकृष्णप्रणामी सम्प्रदायलगायत अन्य हिन्दू धर्मावलम्बीहरुले विशेष महत्वका साथ व्रतोवास गरी मनाउँछन् । यस दिन भक्तजन उपवास बस्छन् र आधा रातमा भगवान्को पूजाअर्चना गर्दै रातभर भजनकीर्तन तथा कथाश्रवण गर्दै जाग्राम बस्छन् । श्रीकृष्णजन्माष्टमीको दिन रोहिणी नक्षत्र र बुधबार पर्नुलाई अत्युत्तम मानिन्छ । यसै नक्षत्र र बुधबार भगवान् श्रीकृष्णको जन्म भएको थियो । हाम्रो देशको कुरा गर्ने हो भने कृष्णजन्माष्टमीको अवसरमा मुलुका सबैजसो कृष्ण मन्दिरहरुमा भक्तजनको भीड लाग्ने गर्छ । यसमा खासगरीकन ललितपुरको मंगलबजारको कृष्णमन्दिरमा पनि यस अवसरमा दिनभर हजारौं संख्यामा भीड लाग्ने गर्दछ । यस दिन यस मन्दिरमा दर्शन पूजा गर्नका लागि राष्ट्रप्रमुख नै आउने प्रचलनसमेत रहिआएको छ । राष्ट्रप्रमुखका रुपमा राष्ट्रपतिले कृष्ण मन्दिरका पुजारीको हातबाट टीका थापी जल तथा फूलप्रसाद ग्रहण गर्नुपर्ने धार्मिक मान्यता रहेको पाइन्छ । त्यस्तै गरी उपत्यका रहेको हनुमानढोकास्थित अष्टकोणाकार कृष्ण मन्दिरमा पनि यस दिन भक्तजनको भीड लाग्ने गर्दछ । यसै अवसरमा काठमाडौंको असनदेखि बालकुमारीसम्म पनि ठाउँ ठाउँमा श्रीकृष्णका विभिन्न तस्बिरहरु झुन्ड्याइने गरिन्छ ।
यो संसारमा सर्वअवतारको अवतारी, सर्वकारणको कारण भगवान् स्वयं जब नर आकृति रुपमा नन्दयशोदाको घरमा आविर्भूत हुनुभयो तब नन्दको घर आनन्दमय भयो । त्यसैले आनन्दमय तिथिलाई हामीहरु श्रीकृष्ण जन्म जयन्तीको रुपमा भव्य रुपमा प्रत्येक साल मनाउँदै आइरहेका छौं । आत्मराम, आप्तकाम पूर्ण ब्रह्म श्रीकृष्णलाई सुख दिने सामर्थ त यो तुच्छ मायावद्ध जीवमा कहाँ नै छ र ? तर भगवान्को अह्लादीनी शक्ति श्रीराधाको अगुवाइमा हुन गइरहेको यस महान उत्सवमा सहभागी भएर श्रीकृष्ण प्रिया श्रीराधालाई सहयोग गर्ने सु–अवसर प्राप्त गरौं तथा भगवान्को नाम, रुप, गुणादिको कीर्तन गरेर यहाँको चरणमा प्रेम भक्ति प्राप्त गरी जीवन सार्थक पारौं । यो तिथि अति रहस्यमय छ, वहाँको जन्म–कर्म दिव्य छ । त्यसैले धर्मको संस्थापन, साधुलाई परित्राण एवं दृष्कृतकारीलाई विनाश गर्नको लागि जसरी भगवान् प्रत्येक युगमा अवतरित हुनुहुन्छ सो भन्दा भिन्नै यस जन्म लीलामा एक ऐश्वर्यमय र अर्को माधुर्यमय जन्म छ । ऐश्वर्यमय जन्म मथुरामा कंसको कारागारमा देवकी बसुदेवलाई माता–पीता स्वीकारेर चर्तुभुज रुपमा आविर्भुत हुनु भयो भने ठीक त्यसै समयमा गोकुलमा यशोदाको गर्भबाट स्वयम् भगवान् माधुईमय ब्रजेन्द्र नन्दनले नै जन्म ग्रहण गर्नु भयो ।
श्रीकृष्णजन्माष्टमी दिन श्रद्र्धालु भक्तजनहरुले साँझमा स्नानपूजा गरी आधारातमा नौनी हातमा लिएका बालकृष्णलाई वा शालिग्रामको शीलालाई काँक्रोभित्र राखी राख्छन् । ठीक मध्यरातमा शिलालाई त्यसबाट निकालेर हर्षोल्लासका साथ जन्मोत्सव गरिन्छ । यसलाई मध्यरातमा श्रीकृष्ण जन्मेको संकेतका रुपमा लिइन्छ । त्यसपछि पञ्चामृत वा शुद्ध जलले भगवान्लाई स्नान गराई श्रीखण्ड, चन्दन, तील, अक्षता र फूलले भगवान्को पूजा गरिन्छ । भगवान्लाई वस्त्र र जनैसमेत अर्पण गरी धूपदीप बालिन्छ र भोग चढाइन्छ । नैवेद्यको भोग लगाउँदा विशेषतः हलुवा, पेडा, मिठाई तथा केरा, नासपाती, स्याउ आदि फलफूलको भोग लगाइन्छ । त्यसपछि भजनकीर्तनसहित आरती गरिन्छ र पुष्पाञ्जली चढाएर भगवान्लाई साष्टाङ प्रणाम गरी अखण्ड दीप बालिन्छ । अनि रातभर श्रीकृष्णको भजनकीर्तन गाएर जाग्राम बस्ने चलन छ । फलतः भगवान् श्रीकृष्ण पौराणिक ग्रन्थमा मात्र नभई ऐतिहासिक पुरुष हुन् भनी चर्चाहरु उठ्न थालेको छ । यसै दिनबाट कलियुग प्रारम्भ भएको मानिन्छ । त्यस्तै गरी विद्वान विश्वनाथ चक्रवर्तीको भनाई अनुसार भगवान् श्रीकृष्णले आफ्नो जीवनको सुरुका तीन वर्ष चार महिना गोकुलमा बिताए । त्यत्तिकै समय वृन्दावन, नन्दग्राम र द्वारकामा बिताएका थिए ।
अन्त्यमा भन्नुपर्दा भगवान् श्रीकृष्णले गीतामा भन्नुभएको छ, जबजब यस संसारमा पापीहरुको अत्याचार बढ्छ र धर्मको उत्थान एवं साधुसन्तहरुको जीवनरक्षाका निम्ति म पृथ्वीमा तीन कारणले गर्दा अवतरित हुन्छु भनेका छन् । पहिलो कारण म मेरो मधुरलिलामय चरित्रद्वारा आत्माराम मुनिलाई मेरो प्रेम भक्तियोगमा लगाउन, दोस्रो दास्य, सख्य, वात्सल्य एवं शृङ्गार प्रेमरसास्वादनद्वारा स्वयम् सुखी भएर उहाँहरुलाई पनि प्रेमरसास्वादन गराएर सुखी गराउन र तेस्रो दुदीन्त–दैत्यको दुदर्मनीय सेनापतिको भारले दाविएको पृथ्वीको अतिसय भारलाई भार रहित बनाउनु हो । त्यसरी नै द्वापर युगमा पनि श्रीकृष्णले धर्म रक्षाका निम्ति भगवान् विष्णुका दस अवतारमध्ये आठौं अवतार मानिएको छ । यसै सन्दर्भमा श्रीकृष्णसँग अर्जुनले सोध्नु भयो, “ तपाई कहिले कहिले र किन जन्म लिला गरेर यस ब्रहमाण्डमा अवतरित हुनुहुन्छ ?” श्रीभगवान्ले भन्नु भयो – यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् । परिभाणाय साधुनां बिनाशय च दृष्कृताम् । धर्मसस्थापनार्थाय सम्भवामी युगे युगे । हे अर्जुन जब जब धर्मको हानि र अधर्मको बृद्धि हुन्छ साथै साधु पुरुषको रक्षा र दुषित कर्म गर्ने व्यक्तिको नाश गर्नको लागि म युग युगमा प्रकट हुन्छु ।
अर्जुनले भन्नु भयो, हे कृष्ण तपाईको भक्तजन ब्रहमर्षि, राजर्षि आदिले पनि त यो काम गर्न सक्नु हुन्छ नि, के तपाई नै आउँनु पर्छ र ? तब श्री भगवान्ले भन्नुभयो, तिमीले ठिक भन्यौ, यी कर्म त ब्रहमर्षि, राजर्षिले गर्न सक्दछन् । सृष्टिको रक्षा पालनको दायित्व पनि त श्रीविष्णुको हो । त्यसैले श्रीविष्णु नै युग युगमा उहाँको अशावतार, लिलाअवतार, कला–आवेश शक्ति अवतार समयानुसार भूतलमा अवतिर्ण भएर धर्मको रक्षा तथा अधर्मको नाश आदि गर्नुहुन्छ । मूलतः समयानुसार भूतलमा अवतिर्ण भएर धर्मको रक्षा तथा अधर्मको नाश आदि गर्नुहुन्छ । यसर्थ कंशको अत्याचारबाट मथुरा र मथुरावासीलाई मुक्ति दिलाउन र गीतामा वर्णित अनेकौं जीवनोपयोगी दर्शनज्ञान संसारलाई दिन नै कृष्णवतार भएको हो भन्नुमा कुनै दुईमत नहोला । निष्काम कर्मयोग सिकाउने उहाँको जीवन तथा “ धर्मो रक्षतः रक्षितः ” को भावनालाई उजागर गरी यस महान परोपकारको लागि लाग्नु सबैको परम कर्तव्य पनि हो । र अन्त्यमा “ कलिकालेर धर्म–कृष्णनामसंकीर्तन ” – “ हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम, राम राम हरे हरे ” निन्य सबैले जप्ने गरौं जीनवभरी सुखी रहौं ।

