काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचनाको सुरुवात नेपाली कांग्रेसबाट भएको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत् कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र उनको टिमलाई बधाई दिँदै भट्टराईले कांग्रेसको यो परिवर्तनले अन्य दलहरूलाई पनि अग्रगामी पुनर्संरचनातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका हुन्।
उनले लेखेका छन्, “पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचनाको सुरूवात पुरानो पार्टी नेपाली कांग्रेसबाट सफलतापूर्वक सम्पन्न गरेकोमा नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाई तथा शुभकामना !”
भट्टराईले कांग्रेसको नेतृत्व परिवर्तनले देशमा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू र पुनर्संरचित दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्यको वातावरण सिर्जना गर्ने अपेक्षा पनि व्यक्त गरेका छन्। उनले यस्तो प्रतिस्पर्धा र सहकार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको जग अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
“यसले राजनीतिक दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल पुर्याओस् र पुनर्संरचित दलहरू तथा नयाँ राजनीतिक शक्तिहरूबीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यबाट देशको लोकतान्त्रिक प्रणाली थप सुदृढ बनोस्,” भट्टराईले अगाडि लेखेका छन्।

