काठमाडौँ । आज माघको पहिलो दिन काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लो दिनको तुलनामा करिब २ डिग्री सेल्सियसले बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको छ।
हिजो पुस ३० गते यो समयमा काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस थियो।
यद्यपि, बिहानको समयसँगै तापक्रम अझै घट्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। बुधबार बिहान ८:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियससम्म झरेको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि सोही समयमा पुनः मापन गरिने महाशाखाले जनाएको छ।
मौसम महाशाखाका अनुसार काठमाडौँसहित देशका विभिन्न स्थानमा न्यूनतम र अधिकतम तापक्रम दैनिक रूपमा मापन गरिन्छ। न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गर्ने गरिएको छ।
मौसमविद्हरूका अनुसार रातभर आकाशमा बादल लागेमा बिहानको न्यूनतम तापक्रम बढ्ने र आकाश खुला रहेमा तापक्रम घट्ने गर्छ। यसको ठीक उल्टो प्रभाव दिनको समयमा देखिन्छ। दिनभर आकाशमा बादल रहेमा घाम नलाग्ने भएकाले अधिकतम तापक्रम घटेर चिसो बढ्ने गर्छ भने आकाश सफा रहेमा घाम लाग्ने भएकाले अधिकतम तापक्रम बढ्दै चिसो कम हुन्छ।

