–विश्वनाथ खरेल
नेपालमा मनाइने जुनसुकै पर्व पनि जातजाति र मानवसँग आधारित पर्व छन् । तराईमा बस्ने हिन्दूहरूको महान चाडको रूपमा लिइने छठपर्वको पनि आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व रहेको छ । छठपर्व पनि खासगरी तराइवासीमा मैथिली, भोजपुरी र अवधि भाषाभाषीहरूले मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक पर्व पनि हो । फलतः सयौँ वर्षअघिदेखि यो पर्व खासगरी तराई भागमा बसोबास गर्ने हिन्दूहरूले मान्दै आएका छन् । यो पर्व कहिलेदेखि मनाएको भन्ने चाहिँ ऐतिहासिक लिखोट भने हालसम्म पनि कतै प्राप्त हुन सकेको छैन् । हाल यो पर्व के तराई, के पहाड, के काठमाडौं सबै ठाउँमा मनाउन लागेकोे पाइन्छ । यो प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठीका दिन मनाइने गरिन्छ । यो पर्वमा सूर्यको पूजा, उपासना गर्नुका साथै स्वादिष्ट परिकारहरू विशेषगरी ठेकुवा, भुस्वाकसार आदि पारिवारिक र आफन्तजन एकै ठाउँमा बसेर खाने गरिन्छ । यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहानखान भन्ने गरिएको छ । व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो र मसुर वस्तु परित्याग गरी यस दिनदेखि व्रत बस्न थाल्छन् । त्यसपछि दोस्रो दिन पञ्चमी तिथिलाई ‘खरना’ भनिन्छ । गाईको गोबरले घर लिपपोत गरी अरुवा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले यस दिन दिनभरि निर्जला व्रत बस्छन् र राती चन्द्रोदयपछि चन्द्रमालाई पायस चढाएर सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ । त्यसैगरी, षष्ठीका दिन गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पिठोवाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । यसरी पर्वको अन्तिम दिन सप्तमीका दिनलाई पार्वण भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिनमा गरेको क्रम दोहो¥याई प्रातः कालीन सूर्यलाई अघ्र्य दिन्छन् । अघ्र्य सम्पन्न भएपछि सूर्य पुरानश्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । त्यसपछि छठपर्व सम्पन्न हुन्छ । यो सूर्यको व्रत बस्ने वा उपासना गर्ने पर्व हो । यसमध्ये छठ पर्व पनि एक हो । 
हिन्दू धर्ममा छठपर्व कात्तिक र चैत महिनामा गरी वर्षको दुइपल्ट मनाइने भए तापनि कात्तिक शुक्ल पक्षमा भने विशेष र बृहत् रूपमा सूर्य नारायणको पूजा गरिन्छ । अस्ताचलमा पुगेका सूर्यको आराधना र उदीयमान सूर्यको पूजाआजा गरिने यो पर्व लक्ष्मी पूजाको छैटौँ दिनमा पर्दछ । यो पर्वमा भगवान्लाई अर्पण गर्न बनाइएका खाद्य परिकार चोखो हुनुपर्ने, जुठो पर्न गए अनिष्ट हुने र कुष्ठरोगको सिकार हुनुपर्ने धार्मिक विश्वास रहेको छ । पूजा सकिएपछि व्रतालुले यिनै प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने घरका सदस्यहरूलाई पनि खुवाउने चलन छ । सयौँ वर्षअघिदेखि यो पर्व खासगरी तराई भागमा बसोबास गर्ने हिन्दूहरूले मान्दै आएका छन् । यो पर्व कहिलेदेखि मनाएको भन्ने चाहिँ ऐतिहासिक लिखोट भने हालसम्म पनि कतै प्राप्त हुन सकेको छैन । हाल यो पर्व के तराई, के पहाड, के काठमाडौं सबै ठाउँमा मनाउन लागेकोे पाइन्छ । केही वर्षअघिसम्म काठमाडौंवासीहरूलाई छठपर्वका सम्बन्धमा केही थाहा थिएन । सात–आठ वर्षयता यो यहाँका बासिन्दाका लागि मनचिन्ते पर्वका रूपमा परिचित हुँदै गएको छ । खासगरी, यस व्रतप्रति रुचि राख्ने महिला तथा पुरुषवर्ग, ससाना बालबालिकाहरूसमेतले पनि छठको व्रत बसी पूजाआजा गर्न मन पराउनेको संख्यामा वृद्धि भएको पाइन्छ । यहाँ खासगरी, थापाथलीस्थित बागमतीको किनार र पशुपतिनाथ तथा गुह्येश्वरीस्थित बागमतीको किनारमा व्रत बस्ने व्रतालुहरूको संख्या बढ्दै गएको देखिन्छ । यस पर्वमा सबै उमेरका महिलाहरू सक्रिय रहने छठ पर्वमा कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो सूर्यलाई पूजा गर्ने र रातभर जाग्राम बसी भजनकीर्तन गरी पुनः बिहान उदाउँदो सूर्यलाई पूजा गरिन्छ । देवीभागवतअनुसार षष्ठीको व्रत र पूजापाठ गर्ने व्यक्तिलाई मनोकामना पूरा हुन्छ । भनिन्छ, छठीमाइको व्रत र पूजाआराधना गरे धन, पुत्र, पति वामनले चिताएको वर प्राप्ति र छालासम्बन्धी, कुष्ठ रोगहरूबाट मुक्ति पाइने लोकोकृत जनमानसमा रहेको छ । त्यसैगरी, महाभारत पर्वको कथाअनुसार पाँच पाण्डव, गान्धार राजा शकुनी जुवा खेल्दा पाँच पाण्डव जुवामा सर्वस्व सम्पत्ति र दरबारसमेत हारेपछि वनवास जानुपरेको र पाण्डवकी पत्नी द्रौपदीले १ सय ८ पटक सूर्यको मन्त्र जप गरी षष्ठीको दिन छठ पर्वको व्रत बसेका कारण व्रतको प्रभावले आफ्नो सम्पूर्ण पाप र दशा शान्त भई पुनः पाण्डवहरूले राजकाज सम्हाल्न पाएको कुरा उल्लिखित छ । त्यसरी नै सूर्य पुराणमा वर्णन भएअनुसार अत्रि मुनिकी पत्नी अनसुयाले कात्तिक शुक्ल षष्ठीको व्रत गरेपछि छठपर्वको शुभारम्भ भएको हो भने अर्कोतिर द्वापरयुगमा पाण्डवपकी आमा कुन्तीले आफ्ना गुरुबाट पाएको मन्त्रको परीक्षण गर्न सूर्यको उपासना गर्दा प्रसन्न भएका सूर्य स्वयं उपस्थित भई आफूजस्तै तेजस्वी पुत्र कर्ण दिएर उनको मनोकामना पूर्ण गरिदिएका थिए । त्यसैवेलादेखि नै छठपर्वको परम्परा चल्दै आएको मान्यता छ ।
समग्रमा भन्नुपर्दा नेपालीहरूको महान चाड दसैं र तिहारलगत्तै आउने अर्काे महत्वपूर्ण पर्व छठ समस्त तराइवासी तथा राजधानीमा भव्यताका साथ मनाइँदै आइएको छ । यसको अवसरमा तराई क्षेत्र तथा राजधानीका पोखरी, सागर, नदी, तालतलैया आदिमा पनि छठपर्वलाई आकर्षक र झकिझकाउ बनाउन सबैतिर प्रकाशको व्यवस्था गरी अझ रमणीय बनाइन्छ । राती घाटमा व्रतालु र सर्वसाधारणलाई बसाउन धार्मिक र सांस्कृतिक कार्यक्रमको आयोजनासमेतको व्यवस्था गरिन्छ । विशेषगरी, शुक्ल पक्षमा मनाउने यो पर्व चार दिनसम्म मनाइन्छ । यसरी अन्तिम दिन बिहानै उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातः कालीन सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरिन्छ । अघ्र्य सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ ।

