तोमनाथ उप्रेती
श्रीमद्भागवत् गीतामा भनिएको छ–“आत्मसंस्थमनःकृत्वा नकिञ्चिदपि चिन्तमेत् ।” ९६(२५०अर्थात् मनलाई आत्ममा राम्ररी स्थापना गरेर अरू कुनै कुराको चिन्तन गर्नुहुन्न । जबसम्म यस भौतिक शरीरको अस्तित्व रहन्छ तबसम्म मनुष्यको पदार्थसँगको सम्बन्ध रहिरहन्छ । परन्तु उसले इन्द्रियहरूको तृप्तिका लागि मात्र सोच्नु हुँदैन । यदि मनले कुनै इन्द्रियका विषयमा, कुनै व्यक्ति, वस्तु, घटना, परिस्थितिका बारेमा चिन्तन गर्न थाल्यो भने तुरुन्त ती विषयहरूबाट मनलाई हटाएर परमात्मामा लगाई हाल्नु पर्छ । बाहिरका दृश्यलाई आखाँ झिमिक्क गरेर जसरी हटाउन सकिन्छ त्यसरी नै मनभित्रका संकल्प विकल्पलाई पनि हटाउन सकिन्छ । यसका लागि निरन्तर ध्यान योगको अभ्यासले मात्र सहजरुपमा मनको चंचलतालाई नियन्त्रण गरेर परमेश्वरको सानिध्यता प्राप्त गर्न सकिन्छ ।
मानसिक स्थिरता र जीवनको लक्ष्य हासिल गर्न इच्छा नियन्त्रण अति आवश्यक छ। इच्छाहरू अनियन्त्रित भएमा मन चञ्चल, अशान्त र असन्तुलित हुन्छ, जसले गलत निर्णय र भ्रम उत्पन्न गराउँछ। श्रीमद्भगवत गीतामा भगवान् कृष्णले भनेजस्तै, जो व्यक्ति इन्द्रिय र इच्छालाई वशमा राख्न जान्दछ, उसैले साँचो योगी वा ज्ञानी कहलिन्छ। इच्छाको नियन्त्रणले आत्मानुशासन, एकाग्रता र दृढ निश्चय ल्याउँछ, जसले जीवनलाई लक्ष्यतर्फ उन्मुख बनाउँछ। इच्छाहरूमा नियन्त्रण गरी स्वधर्म अनुसार कर्म गर्नाले नै सन्तुलित, सफल र आनन्ददायक जीवन प्राप्त हुन्छ। त्यसैले इच्छामाथि नियन्त्रण नै मानसिक शान्ति र जीवन सफलताको मूल चाबी हो।
मानव मन अत्यन्त चञ्चल छ । जबसम्म मानिसले आफ्नो मनलाई नियन्त्रणमा लिन सक्दैन ऊ आफ्नो निश्चित लक्ष्यसम्म कदापि पुग्न सक्दैन । मनलाई चञ्चल बनाई राख्ने उसका भावना तथा विचार हुन्छन् । यी भावना तथा विचार स्थिर भएपछि मात्र मानिसको अन्तर मनले काम गर्न थाल्छ । मनलाई अस्थिर राख्न उत्प्रेरित गर्ने कारक तत्वहरू मध्ये मुख्य जड तत्व उसको इच्छा हो । यसले विचार तथा भावनाहरूलाई विचलित गरिदिन्छ र मन स्थिर रहन दिदैंन । त्यस कारण मानिसले पहिला इच्छालाई नियन्त्रणमा लिने उपायबारे सोच्नु आवश्यक हुन्छ । मानव मन चञ्चल र अस्थिर हुने कारणहरूमा विभिन्न मानसिक, भावनात्मक, र शारीरिक रहेका छन्। मनलाई नियन्त्रण गर्नु एक चुनौतीपूर्ण कार्य हो। मानव मनको चञ्चलता र अस्थिरताले जीवनको धेरै निर्णयहरू र कार्यहरूमा प्रभाव पार्दछ ।
मानव जीवन बहुआयामिक छ । मानिसको व्यवहार, सोच, भावना र प्रतिक्रिया—यी सबैको मूल स्रोत हो उसका विचारहरू । त्यसैले भनिन्छ, “मनुष्य आफू जस्तो सोच्दछ, ऊ उस्तै बन्छ।” मानिसले आफ्नो मनलाई नियन्त्रण गर्न नसकेसम्म, ऊ आफ्नो जीवनका उद्देश्यहरूमा सफल हुन सक्दैन । मनको चञ्चलता प्रमुख रूपमा भावना र विचारहरूको मिश्रणबाट उत्पन्न हुन्छ । जब भावना र विचारहरू असन्तुलित हुन्छन्, तब मनलाई स्थिर राख्न असम्भवजस्तै हुन्छ ।
मनको चञ्चलता उत्पन्न गर्ने प्रमुख कारण हो—इच्छा । इच्छाले मानसिक अवस्थालाई मात्र होइन, पुरै जीवन पथलाई असर पार्छ । इच्छा जब नियन्त्रणबाहिर जान्छ, तब मन विक्षिप्त, तनावग्रस्त र अशान्त हुन थाल्छ । मानिस कुनै वस्तु, स्थिति वा सम्बन्ध प्राप्त गर्न चाहन्छ तर जब त्यो चाहना पूरा हुँदैन, तब निराशा उत्पन्न हुन्छ र मन अस्थिर बन्छ ।
वित्तीय अभाव, सम्बन्ध विच्छेद, असफलता वा स्वास्थ्य समस्या जस्ता कारणले इच्छाहरू अपूरा रहन्छन् र त्यसले मानसिक पीडा बढाउँछ । मन अस्थिर बन्दा निर्णय क्षमता घट्छ, आत्मविश्वास कमजोर हुन्छ र व्यक्ति भ्रममा पर्न थाल्छ । त्यसैले, इच्छालाई नियन्त्रण गर्नु आवश्यक छ । इच्छाको नियन्त्रण भनेको इच्छाको पूर्ण नाश होइन, त्यसको विवेकपूर्ण व्यवस्थापन हो ।
मनको विकर्षणबाट मुक्त हुनका लागि ध्यान, आत्मचिन्तन र योग अत्यन्त प्रभावकारी अभ्यास हुन् । श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई उपदेश दिँदै भन्नुभएको छ— “कामात्क्रोधोभिजायते। क्रोधात्भवति सम्मोहः, सम्मोहात्स्मृतिभ्रंशः। स्मृतिभ्रंशाद्बुद्धिनाशो, बुद्धिनाशात्प्रणश्यति।” अर्थात्, इच्छाबाट क्रोध उत्पन्न हुन्छ, क्रोधले मोह ल्याउँछ, मोहले स्मृति हराउँछ, स्मृति हराएपछि बुद्धि नष्ट हुन्छ र अन्ततः मानव पतन हुन्छ ।
इच्छा नियन्त्रण गर्न आत्म–नियन्त्रण, विवेक, साधना र नियमित अभ्यास अनिवार्य हुन्छ । स्वामी विवेकानन्दले भनेका छन्— “एक विचारलाई जीवन बनाऊ, त्यसको बारेमा सोच, सपना देख र सबै मांसपेशी र स्नायुलाई त्यही विचारमा केन्द्रित गर।” उनी दिनको दुई पटक ध्यान गर्न सल्लाह दिन्छन्—बिहान र साँझ । किनकि यो समय शान्त, एकाग्रता निर्माण गर्ने उपयुक्त समय हो । ध्यान र एकाग्रता अभ्यासले दिमागलाई भड्कन नदिई मनोबललाई सुदृढ बनाउँछ ।
मानिसको मनमा उत्पन्न हुने भावना—जस्तै रिस, राग, मोह, घृणा, ईर्ष्या, चिन्ता, लोभ आदि—इच्छाबाटै जन्मन्छन् । यी नकारात्मक संवेदनाहरूले चेतनालाई अशान्त बनाउँछन् । त्यसैले, इच्छाको व्यवस्थापन केवल आत्मशिक्षाको विषय होइन, चेतनाको परिमार्जन पनि हो ।
आध्यात्मिक दृष्टिले पनि, इच्छाको नियन्त्रण आवश्यक छ । श्रीमद्भागवतमा भनिएको छ— “अनन्त जन्महरू पछि प्राप्त मनुष्य शरीर अत्यन्त दुर्लभ हो, बुद्धिमान व्यक्तिले मृत्युअघि नै यसको सदुपयोग गर्दै आत्मकल्याणमा लाग्नुपर्छ।” मनुष्य यो शरीर केवल विषय–भोगमा नष्ट गर्नका लागि पाएको होइन । यो चेतनाको उत्थान र आत्म–परिष्कारका लागि हो ।
गौतम बुद्धले पनि भनेका छन्— “मन नै सुख र दुःखको जड हो । त्यसैले मनलाई नियन्त्रण गर, मनलाई मित्र बनाऊ ।” मनको विकर्षणले जीवनमा असफलता मात्र होइन, आत्महीनता, तनाव र निराशा पनि ल्याउँछ । मनलाई स्थिर बनाउन योग, गहिरो श्वासप्रश्वास, सकारात्मक सोच, र जीवनदर्शनको अभ्यास गर्नुपर्छ ।
गहिरो सास फेर्दा हाम्रो मस्तिष्कबाट सेरोटोनिन र डोपामिन जस्ता रसायनहरू निस्कन्छन्, जसले मानसिक शान्ति र सन्तुलन ल्याउँछन् । प्रतिदिन पाँच पटक गहिरो सास लिएर फोक्सोमा ध्यान केन्द्रित गर्दा विचारहरू शान्त हुन्छन् र भावना स्थिर बन्छन् ।
मानव मनलाई बाँध्न सकिने कुनै यान्त्रिक रिमोट छैन । मनको नियन्त्रण केवल मानिस आफैले गर्नसक्छ । आफूभित्रको ब्रह्माण्डलाई बुझ्न, आफूभित्रको सम्भावनालाई खोतल्न नै आत्म–विकास हो । मनमा उत्पन्न हुने तरङ्गहरू संसारका सबैभन्दा शक्तिशाली तरङ्गहरू हुन्—यी बाहिरी साधनबाट होइन, आन्तरिक अभ्यासबाट मात्र नियन्त्रणमा आउँछन् ।
मनको तरङ्गलाई स्थिर राख्ने उपायहरू—ध्यान, योग, सकारात्मक सोच, शारीरिक व्यायाम, सहानुभूति र सेवा—यी सबै अभ्यासले व्यक्तिको आत्म–नियन्त्रण क्षमतालाई बढाउँछ । खासगरी नकारात्मक कुराकानीबाट टाढा रहनु, आत्म–अवलोकन गर्नु, र लक्ष्यप्रति दृढ अठोट राख्नु—यी सबै उपायहरू अत्यन्त फलदायी छन् ।
हामी सकारात्मक सोच्यौँ भने हाम्रो चेतना पनि सकारात्मक बन्छ । यही चेतना नै व्यवहारमा परिवर्तन ल्याउँछ । यदि मानिसले आफ्ना विचारहरूलाई सधैं उच्च र सकारात्मक राख्न सके, मन स्वतः स्थिर बन्छ । जब मन स्थिर हुन्छ, तब मात्र लक्ष्यप्राप्ति सम्भव हुन्छ । चाहे त्यो भौतिक होस् वा आध्यात्मिक, मनको स्थिरता नै सबै उपलब्धिको मूल कुञ्जी हो ।
अन्ततः भन्नुपर्दा, इच्छा जीवनका लागि आवश्यक छन् तर यी इच्छाहरू जब अनियन्त्रित हुन्छन्, तब यो वरदान अभिशापमा बदलिन्छ । त्यसैले, इच्छा र भावना, विचार र संवेदनाको व्यवस्थापन सिक्नैपर्छ । आत्मशिक्षा, योग, ध्यान, सन्तुलित जीवनशैली र विवेकपूर्ण सोच—यी सबै अभ्यासहरूले व्यक्ति आफूलाई मानसिक रूपले स्थिर, आत्मविश्वासी र उद्देश्य–केन्द्रित बनाउन सक्छ । यही मानसिक स्थिरता नै आत्म–विकास, आत्म–कल्याण र जीवनको सार्थकता हो ।
हामिले आहारलाई शुद्ध र सात्विक बनाउन सफल भयौं भने मनमा विजय पाउने दिशामा एक कदम अघि बढ्नेछौं। ‘जस्तो खान्छौं अन्न, त्यस्तै हुन्छ मन यो भनाइ निरर्थक छैन। विविध प्रकारका आसन–प्राणायाम–व्यायाम आदिको विधान कायालाई साध्नको लागि नै बनाइएको हो। यसबाट शरीरको चंचलता कम हुन्छ, यसको असर मनमा पर्नेछ। काया भन्दा सूक्ष्म छ वाणी या वचन र यो भन्दा सूक्ष्म छ हाम्रो मन। वाणीमा नियंत्रण भयो भने त मन स्वतः वशमा हुनेछ। तर हामीले विपरीत क्रमले पुरुषार्थ गर्ने गर्दछौं– सर्वप्रथम मनलाई जित्ने प्रयत्न गर्दछौं र यहीं नेर मात खान्छौं। यदि अर्को ढंगले कोशिश गरियो भने मन दुर्जेय रहदैन। उसको शत्रुभाव पनि समाप्त हुनेछ, उसले हामीसंग मित्रवत व्यवहार गर्नेछ ।
उपसचिव, नेपाल सरकार,
उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङमा कार्यरत छन्०

