– प्रा.डा. शत्रुघन श्रेष्ठ
बैदेशिक ब्यापार भनेको आफ्नो देशमा उपलब्ध भएका श्रोत, साधन र कच्चा पदार्थले बनाएका सामग्रीहरु विदेशमा निर्यात गरि गरिने व्यापार नै बैदेशिक ब्यापार हो ।
बैदेशिक ब्यापार देशको आर्थिक बिकासका लागि अत्यावश्यक छ । यसले देशमा उपलब्ध भएका तमाम स्रोत साधनको उच्चतम उपयोग गरी उत्पादन वृद्धि गर्न मद्दत पुर्याउँछ । उत्पादित वस्तुले देशका नागरिकको आवश्यकता परिपूर्ति हुनुका साथै विदेश निर्यात गरी बिदेशी मुद्रा आर्जन समेत गर्न सक्छ । यसबाट नेपालले भोगिरहेको गरिबी तथा बेरोजगारीको समस्यालाई केहि हदसम्म समाधान गर्न समेत मद्दत पुग्दछ । साथै देशको बैदेशिक मुद्राको श्रोत तथा भण्डार बलियो हुन गई लगानीका स्रोतको अभिवृद्धि हुने र समग्र देशको आर्थिक अवस्था सुधार हुनुका साथै नागरिकको आर्थिक तथा सामाजिक अवस्था समेतलाई बलियो बनाउन मद्दत पुर्याउँछ ।
यसलाई सुदृढ र बलियो बनाउन चाल्नु पर्ने केहि कदमहरु यस प्रकारका छन् :–
१) नेपाल एक भूपरिवेष्ठित देश (Land Locked Country) भएका कारणले गर्दा भारतको समुद्रसँगको पहुँचलाई सरल बनाउन आवश्यक ठोस निती कार्यान्वयन गर्ने ।
२) उत्पादन प्रर्वद्धन गर्नका लागि आवश्यक उत्पादन बढाउन सहयोग हुने गरी निती निर्माण तथा उचित कानूनी ब्यवस्था गर्नु पर्दछ ।
३) नेपालमा उत्पादन गरिएका नयाँ निर्यात योग्य वस्तुको पहिचान र विकासलाई तिब्रता दिंदै जानु पर्दछ ।
४) निर्यात योग्य वस्तुको गुणस्तरमा सुधार ल्याउन र ठूलो परिमाणमा उत्पादन गर्न अत्याधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन दिंदै जानु पर्दछ ।
५) आयात निर्यातलाई सहज गर्न बैंकिङ्ग प्रणालीलाई चुस्त पार्नु पर्छ ।
६) निर्यातमूलक उद्योगको प्रर्वद्धन गर्न EPZ लाई प्रभावकारी बनाउने र नेपाल सरकारको निर्णय बमोजिम प्रत्येक प्रदेशमा एउटा EPZ को स्थापना तथा सञ्चालनमा ल्याउने नीतिलाई प्रभावकरी रुपमा कार्यान्वयन गर्दै लैजाने ।
७) नेपालमा उत्पादन बढाउन बैदेशिक लगानी आकर्षित गर्नु पर्दछ भने त्यसको लागि (NRN) गैर आवासिय नेपालीलाई समेत सहज हुने गरी कानूनी व्यवस्था ल्याउनु पर्दछ ।
८) विदेशी उत्पादकलाई उद्योगको स्थापना, जग्गा अधिग्रहण, ऋण आदिको सुव्यवस्था गर्नु पर्दछ ।
९) बिदेशी लगानीकर्ताहरुलाई बिनिमय दर सम्बन्धी जोखिम हटाउन बैकिङ्ग सुविधा दिने ब्यवस्था गर्नु पर्दछ ।
१०) निर्यातकर्तालाई सुविधा प्रदान गर्न कम ब्याजदरमा ऋण उपलब्ध गराउन Exim Bank (एक्जिम बैंक) स्थापना गर्नु पर्दछ ।
११) नेपालको बैदेशीक ब्यापार सहज हुनेगरी आर्थिक कुटनीतिलाई सशक्त बनाउँदै लैजानु पर्दछ ।
१२) उत्पादनलाई प्रोत्साहन मिल्ने गरी नवप्रर्वतन र उद्यमशिलतालाई प्रर्वद्धन गर्नु पर्दछ ।
१३) उच्च सम्भावना रहेका क्षेत्र जस्तै प्रविधिको खोजि गरी त्यसको प्रर्वद्धनको लागि आवश्यक निरन्तर अनुसन्धान गर्नु पर्दछ ।

