काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड सोमबारदेखि तीन दिनसम्म राति छ घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ।
सडक स्तरोन्नति कार्य जारी रहेकाले चैत १९ गतेसम्म हरेक राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाइएको छ।
मुग्लिन–नागढुङ्गा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरलगायत क्षेत्रमा स्तरोन्नति भइरहेको छ। दिनभर पटक–पटक सवारी रोकिने समस्याबाट यात्रुहरूलाई राहत दिन रातिको समयमा पूर्ण बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाबाहेक सबै निजी तथा सार्वजनिक सवारीसाधनको आवागमन बन्द रहनेछ।
सडक निर्माण कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको सडक योजनाका सूचना अधिकारी सचिन मिश्रले जानकारी दिए।
सडक बन्द अवधिमा थप जानकारी वा सहायताका लागि सूचना अधिकारी सचिन मिश्र र इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीकसिंहलाई सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।
सूचना अधिकारी मिश्रको सम्पर्क नम्बर ९८४९५४४६०७ र प्रहरी निरीक्षक सिंहको ९८५५०९०१०२ रहेको छ ।

