काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ एकैदिन प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कायम भएको छ।
अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन एक साताको अवधिमा झन्डै २७ हजार ४ सय रुपैयाँले घटेको हो। गत आइतबार ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ।
यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड थियो। पछिल्ला दिनहरूमा भने निरन्तर गिरावट देखिएको छ—बिहीबार ५,४०० र बुधबार २,२०० रुपैयाँले घटेको थियो। चार दिनको अवधिमा मात्रै सुनको मूल्य करिब २७ हजार ९ सय रुपैयाँले घटेको छ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा झरेको छ। यसअघि पनि लगातार केही दिन चाँदीको मूल्य घट्ने क्रम जारी थियो।

