पाल्पा। शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। गम्भीर घाइते एकजनाको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या बढेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा निधन भएको हो।
यसअघि दुर्घटनामा अर्घाखाँची शीतगंगा–४ का चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देही देवदह–२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको मृत्यु भइसकेको थियो।
शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेको थियो।
दुर्घटनामा चालकसहित चार जना घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो, जहाँ तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए।
गम्भीर घाइते राजन चिदीलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएकोमा उपचारकै क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

