रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोतीगाउँमा २०७७ जेठ १० गते भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा उच्च अदालत सुर्खेतले २३ जनालाई जन्मकैदको सजाय सदर गरेको छ। न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले जिल्ला अदालत रुकुम पश्चिमको फैसला सदर गर्दै जन्मकैदको सजायलाई कायम राखेको हो।
जिल्ला अदालतले २०८० मंसिर १९ गते वडाअध्यक्ष दम्बरबहादुर मल्लसहित २४ जनालाई जातीय विभेदका कारण हत्या गरेको ठहर गर्दै जन्मकैद (२५ वर्ष कैद) सजाय सुनाएको थियो। उच्च अदालतले जातीय छुवाछुतको अभियोगमा भने सबैलाई सफाइ दिएको अदालत स्रोतले जनाएको छ।
यस्तै, नवराज विककी प्रेमिका भनिएकी (घटना हुँदा नाबालिग) किशोरी र उनकी आमालाई जिल्ला अदालतले सुनाएको दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजायलाई उच्च अदालतले उल्ट्याउँदै सफाइ दिएको छ।
जाजरकोटको भेरी नगरपालिका-४, सानागाउँका २१ वर्षीय नवराज विक आफ्नी प्रेमिकालाई लिन साथीहरूसहित सोतीगाउँ पुगेका थिए। गाउँलेहरूले घरेलु हतियारसहित आक्रमण गर्दा नवराज विक, सन्जु विक, गणेश विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम सुनारको मृत्यु भएको थियो। उनीहरूको शव भेरी नदीमा फेला परेको थियो।
जिल्ला अदालतको फैसलाविरुद्ध वडाअध्यक्ष मल्लसहित २४ जनाले पुनरावेदन दायर गरेका थिए भने नवराजका बुवा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दिएका थिए।

