काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठान बीच आर्थिक रूपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकका लागि निःशुल्क मोतिबिन्दु शल्यक्रिया गर्ने सहमति भएको छ।
मंगलबार कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगाका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइतको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार, तिलगंगा आँखा प्रतिष्ठानले बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा निःशुल्क मोतिबिन्दु पहिचान तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्नेछ। साथै, विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूको आँखा परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क चस्मा वितरण गरिनेछ।
कार्यक्रममा बोल्दै ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र ढकालले बैंकले स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजमा फिर्ता गर्ने परम्परा कायम राख्दै आएको बताए। उनले सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिए।
त्यसैगरी, डा. रुइतले बैंकसँगको सहकार्यलाई दिगो बनाउँदै पारदर्शिता र प्रभावकारितामा जोड दिने प्रतिबद्धता व्यक्त गरे। बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले यस सहकार्यले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ विस्तार गर्न ऊर्जा मिल्ने बताए।
गैरनाफामूलक संस्थाका रूपमा सन् १९९२ मा स्थापित तिलगंगा आँखा प्रतिष्ठानले आँखा स्वास्थ्य सेवा, अनुसन्धान, शिक्षण तथा समुदायमा आधारित कार्यक्रममार्फत नेपालसहित विश्वस्तरमा सेवा प्रदान गर्दै आएको छ।

