प्रकाश पौडेल
ईश्वर पोखरेललाई वरिष्ठ नेताको जिम्मेवारी दिँदै विद्यादेवी भण्डारीको सदस्यता आगामी बैठकबाट खुला गराएर पार्टीभित्र सामूहिक छलफललाई पार्टी जीवन सञ्चालनको मुख्य आधार बनाइयो भने एकताको सन्देश मजबुत हुनेछ ।
नेकपा एमाले केवल एउटा राजनीतिक पार्टी मात्र होइन, यो लाखौँ कार्यकर्ता र जनताले रगत, पसिना र त्यागबाट निर्माण गरेको साझा सम्पत्ति हो । यही भावनासहित, ११औँ महाधिवेशनपछि पार्टीलाई अझ सशक्त, एकताबद्ध र जनमुखी बनाउने आशा गर्दै केही विनम्र सुझावहरू खुला रूपमा प्रस्तुत गर्न चाहन्छु ।
सबैभन्दा पहिले, २३ गतेका सहिद परिवारहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको त्यागप्रति सम्मान र पार्टीको प्रतिबद्धता व्यक्त गर्न आवश्यक देखिन्छ । नेकपा एमाले सहिदहरूको रगत सम्झेर, उनीहरूको सपना साकार पार्न काम गर्छ भन्ने स्पष्ट सन्देश दिन सकियो भने देशभित्र घुसपैठ गर्ने अवसरवादी तत्वहरूलाई नैतिक रूपमा अलग पार्न सकिन्छ ।
आज नेकपा एमाले पुनः जनताको बहुदलीय जनवाद (जबज) को वैचारिक ट्र्याकमा फर्किएको यथार्थ छ । यसलाई स्वीकार गर्न कुनै अप्ठ्यारो नमान्नुहोस् बरु यही वैचारिक स्पष्टताले पार्टीलाई जनतासँग अझ गहिरो रूपमा जोड्नेछ ।
अध्यक्षज्यू, एकताबद्ध एमाले बनाउने ऐतिहासिक जिम्मेवारी तपाईंको काँधमा छ । प्रतिस्पर्धामा आउनुभएका कमरेड ईश्वर पोखरेललाई विधानअनुसार वरिष्ठ नेताको जिम्मेवारी दिँदै रोक्का गरिएको कमरेड विद्या देवी भण्डारीको सदस्यता आगामी बैठकबाट खुला गराएर पार्टीभित्र सामूहिक छलफललाई पार्टी जीवन सञ्चालनको मुख्य आधार बनाइयो भने एकताको सन्देश अझ बलियो हुनेछ ।
प्रतिस्पर्धाबाट जनमत भएका, ग्राउन्डमा खारिएका धेरै नेता बाहिरिएका छन्। उनीहरूलाई बेवास्ता गर्नु पार्टीका लागि ठूलो घाटा हो।
युवा क्षेत्रबाट निर्वाचित तथा करिब ५० प्रतिशत केन्द्रीय सदस्यलाई फुल–टाइम पार्टी काममा खटाउने व्यवस्था अत्यन्त आवश्यक छ। व्यक्तिगत जीवनको व्यवस्थापन सुनिश्चित गर्दै जिम्मेवारी दिइयो भने पार्टीलाई task-based कार्यशैलीतर्फ लैजान मद्दत पुग्नेछ र परिणाम देखिने गरी काम हुन थाल्नेछ ।
यस प्रतिस्पर्धाबाट जनमत भएका, ग्राउन्डमा खारिएका धेरै नेता बाहिरिएका छन्। उनीहरूलाई बेवास्ता गर्नु पार्टीका लागि घाटा हुनेछ। निष्पक्ष मूल्याङ्कन गरेर भूमिका दिन कञ्जुस्याइँ नगर्नु नै संगठन सुदृढीकरणको सही बाटो हो।
मुलुक अझै कठिन परिस्थितितर्फ जान सक्ने संकेतहरू देखिइरहेका छन् । यस्तो अवस्थामा प्रतिशोध होइन, सहकार्य र समझदारी आवश्यक छ। एमाले एकताबद्ध भयो भने सबै किसिमका संकट र चुनौतीहरू पार गर्न सकिन्छ।
अन्त्यमा, प्रतिस्पर्धामा आएका नेताहरू पराजित भए अब विस्थापित हुन्छन्, मैदान छोड्छन् भन्ने सोच त्याग्नुस्। न कोही पार्टी छोड्नेछ, न कोही निष्क्रिय हुनेछ, न पार्टीविपरीत काम गर्नेछ। सबै मेहनत गर्न चाहन्छन्। त्यो मेहनत पार्टीको हितमा प्रयोग हुने वातावरण बनाउने जिम्मेवारी तपाईंको हातमा छ ।
आशा छ, तपाईंको नेतृत्वमा नेकपा एमाले अझ बलियो, अझ एकताबद्ध र अझ जनमुखी हुनेछ।

