काठमाडौं। मधेश प्रदेश सभामा रिक्त सभामुख पदका लागि आज निर्वाचन हुँदैछ।
पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै सातदलीय गठबन्धनले तत्कालीन सभामुख रामचन्द्र मण्डललाई गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट पदमुक्त गरेपछि नयाँ सभामुख चयन गर्न लागिएको हो।
सभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।
नेकपा एमालेका तर्फबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सातदलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन्।
मधेस प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ।

