काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।
केन्द्रीय बैङ्कले एक सूचना प्रकाशित गर्दै आफूले लिन चाहेको मुद्दती निक्षेपको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी यही पुस ७ गतेभित्र आवेदन दिन सम्बन्धित बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।
सूचनाअनुसार क वर्गका वाणिज्य बैङ्कमा ९६ करोड रुपैयाँ, ख वर्गका विकास बैङ्कमा १८ करोड रुपैयाँ र ग वर्गका वित्त कम्पनीमा छ करोड रुपैयाँ बराबरको रकम लगानी गरिनेछ।
लगानीका लागि आवेदन दिने बैङ्क तथा वित्तीय संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा आएको हुनुपर्ने, न्यूनतम कूल पूँजीकोष कायम गरेको हुनुपर्ने तथा कूल कर्जा सापटीको अनुपात आठ प्रतिशत र खुद् निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका शर्त पूरा गरेको हुनुपर्ने केन्द्रीय बैंकको शर्त छ।

