काठमाडौँ। घरेलु टोली एपीएफ एफसीलाई पराजित गर्दै भारतको इस्ट बंगाल एफसीले पहिलो साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार सम्पन्न फाइनल खेलमा इस्ट बंगालले एपीएफलाई ३–० गोल अन्तरले पराजित गरेको हो।
पहिलो हाफमा २–० ले पछि परेको एपीएफले दोस्रो हाफमा थप एक गोल खायो। खेलको १७औँ मिनेटमा एपीएफकी अनिता बस्नेतले गरेको प्रहार सिधै गोलरक्षकको हातमा पुगेको थियो।
इस्ट बंगालले २२औँ मिनेटमा अग्रता लियो। कप्तान फजिला इक्वापिटले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाइन्। त्यसको दुई मिनेटपछि, २४औँ मिनेटमा पेनाल्टी एरियाबाट फजिलाले गरेको प्रहार एपीएफकी गोलरक्षक अञ्जना रानाले उत्कृष्ट बचाउ गरिन्।
खेलको ३५औँ मिनेटमा आशालताको क्रसमा शिल्की देवी हेमानले गोल गर्दै इस्ट बंगालको अग्रता दोब्बर बनाइन्।
दोस्रो हाफ सुरु भएको एक मिनेटमै, अर्थात् ४६औँ मिनेटमा कप्तान फजिलाले व्यक्तिगत दोस्रो गोल गर्दै इस्ट बंगाललाई ३–० को निर्णायक अग्रता दिलाइन्।
५३औँ मिनेटमा अनिता बस्नेतको कर्नरमा रश्मी कुमारी घिसिङले हेडर गरे पनि बल सिधै गोलरक्षकको हातमा पुगेको थियो। दोस्रो हाफमा एपीएफले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन।
यस जितसँगै इस्ट बंगालले पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि हात पारेको छ।

