काठमाडौं । धीरकुमार श्रेष्ठका दुई कृतिको एक साथ लोकार्पण भएको छ । कवि, कथाकार, समालोचक तथा शब्दाङ्कुर साहित्यिक मासिक पत्रिकाका सम्पादक श्रेष्ठका समालोचना कृति “आख्यानको आँखीझ्याल” र “अध्ययन विश्लेषण”को पद्मकन्या क्याम्पस, बागबजारस्थित डेनिस हलमा मंगलबार लोकार्पण भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठ, सभाध्यक्ष ऐरावती प्रकाशन प्रा.लि.का अध्यक्ष रामदेव पाण्डे, प्रा.डा.कुमारप्रसाद कोइराला, प्रा.डा.रामप्रसाद ज्ञवाली, प्रा.डा देवि नेपाल र उपप्राध्यापक अनुपमा रेग्मी एवम् कृतिकार श्रेष्ठले संयुक्तरूपमा कृति लोकार्पण गरेका हुन् ।
कार्यक्रममा विमोचित कृतिबारे उपप्राध्यापक अनुपमा रेग्मी, प्रा. डा.कुमारप्रसाद कोइराला, प्रा.डा.देवि नेपाल, प्रा.डा.रामप्रसाद ज्ञवालीले समिक्षात्मक मन्तव्य राखेका थिए ।

त्यसै गरी विमोचित कृतिका बारेमा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठ ‘सम्भव’ले ‘साँचो साँचो बोल्छु, साँचो बाहेक केही बोल्दिनँ’ भन्दै कृतिमा भएका कमजोरीबारे खुलस्त गरे । समालोचक श्रेष्ठले असावधानीवस थुप्रै कमजोरी दुई कृतिमा लेख्न पुगेको सम्भवले टिप्पणी गरे ।
कार्यक्रमका सभापति ऐरावती पब्लिकेसनका अध्यक्ष साहित्यकार रामदेव पाण्डेले कृतिका बारेमा छोटो मन्तब्य व्यक्त गर्दै प्रा डा दयाराम श्रेष्ठ ‘सम्भव’जस्तो व्यक्तिको मार्गर्निर्देशन समयमा पाएको भए आफू साँच्चै साहित्यकार हुने, आफ्नो लेखन स्तर अर्कै बन्ने रहेछ भन्ने लागेको बताए ।
कार्यक्रमको प्रारम्भमा ऐरावती प्रकाशन प्रा.लि.का प्रबन्ध निर्देशक आनन्द तिवारीले प्रमुख अतिथी, अतिथी एवम् कार्यक्रमका सहभागीलाई स्वागत गरे भने कृतिकार धीरकुमार श्रेष्ठले आफूलाई प्रशंसा भन्दा आलोचना अर्थात गाली आवश्यक भएको र आजको कार्यक्रममा थोरै आफ्नो चाहना पूरा भएको बताए । श्रेष्ठले आगामी दिनमा कमजोरीबाट सिक्दै अघि बढ्ने प्रतिवद्धतासहित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कवि देवु लुइँटेलले सञ्चालन गएको कार्यक्रममा लेखक तथा साहित्यकारहरू प्राज्ञ जीवेन्द्रदेव गिरी, शैलेन्द्र साकार, भागिरथी श्रेष्ठ, विधान आचार्य, डा विनोद मञ्जन, प्रमोद प्रधान, इश्माली श्री, जयदेव भट्टराई, विश्वराज अधिकारी, विमल भौकाजी, राम विनय, दिव्य गिरी, विनोद नेपाल, कुन्दनकुमार पन्त, ध्रुबराज थापा, चन्द्रबहादुर लामा, रत्न प्रजापति, कुमार काफ्ले, गोपालकुमार मौनाली, सञ्जय सुमन, विश्व सिग्देल, इश्वर थोकर समेतगरी झन्डै १२५ बढिको उपस्थिति थियो ।
कृति काठमाडौंको डिल्लीबजारस्थित ऐरावती प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो ।

