काठमाडौं । मुटुरोग विशेषज्ञ प्राडा. राजेन्द्र कोजुको ‘मुटुको कथा’ कृति लोकार्पण भएको छ । मंगलबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा डा. सन्दुक रुइत, डा. भगवान् कोइराला, डा. रामकण्ठ माकजु, हरिवंश आचार्य, डा. स्मृति शाक्य र लेखक कोजुले संयुक्तरूपमा कृति लोकार्पण गरेका हुन् ।
पुस्तक ‘मुटुको कथा’माथि बोल्दै कलाकार हरिवंश आचार्यले भने, “म स्कूलमा सबैभन्दा नपढ्ने मान्छेले जीवनभर पुस्तक पढेर बिताएको छु । हाम्रो मुटुलाई स्वस्थ राख्न सिकाउने जीवनशैलीजस्तै यो पुस्तक पढ्दा हाम्रो आफ्नै कल्याण हुन्छ ।”
पुस्तकमाथि टिप्पणी गर्दै मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले भने, “म पनि मुटुको डाक्टर भएर यस्तो किताब लेख्न सकिनँ । मैले भोगेका र उपचार गरेका विरामीका कथा जस्तै कथा यो किताबमा छन् । किताब लेख्नु आफैंमा पुण्य काम हो । किताब लेख्नुमात्रै होइन; पढ्नु पनि पुण्य कमाउनु हो ।”
पुस्तकले हाम्रो जीवनशैली र खानपानलाई सन्तुलनमा राख्न सक्यौं भने मुटु जोगाएर दीर्घजीवी बन्न सकिने अर्का वक्ता मुटुरोग विशेषज्ञ डा. स्मृति शाक्यले बताईन्।
“मुटुको कथाले हाम्रो मुटु स्वस्थ भयो भने मात्रै हाम्रो जीवन स्वस्थ हुन्छ । यो व्यवहारिक पुस्तक हो । सबैका निम्ति पठनीय छ ।”, अर्का अतिथि नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले भने।

त्यसैगरी धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले यस पुस्तकले स्वस्थ रहन हामीलाई सधैं झकझकाइरहने बताए ।
कार्यक्रममा लेखक प्राडा. राजेन्द्र कोजुले आफूले पढेका, देखेका, भोगेका र उपचार गरेका बिरामीका कथालाई किताबमा बुनेको तथा यी कथाले कतै न कतैबाट मानव कल्याणमा सहयोग गर्ने बताए । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक माकजूद्वारा लिखित एवम्
बुकहिल पब्लिकेशनले प्रकाशन गरेको २४० पृष्ठको सचित्र किताबको मूल्य ५०० रुपैयाँ रहेको छ ।

