– जयराम बिडारी
लोमश वाङ्मय प्रतिष्ठानको मासिक रचना वाचन तथा कृति परिचर्चा कार्यक्रम राष्ट्रिय एकता दिवसको छेकमा प्रारम्भ वर्ल्ड स्कुलको प्राङ्गणमा सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’को अध्यक्षतामा आयोजित उक्त कार्यक्रमलाई स्वागत गर्दै विद्यालयका प्राचार्य कमल ज्ञवालीले साहित्य समाजको दर्पण हुने भएकाले आफूहरू यस्तो कार्यक्रममा गाँसिन लालायित भएको बताए । शिक्षा र साहित्य विकास र सभ्यताका निम्ति अत्यावश्यकीय तत्त्व भएकाले साहित्यसँग जोडिन पाउनु शिक्षाको देवलमा पूजा गरिरहेका आफूहरूको निम्ति अपूर्व संयोग भएको उनको कथन थियो ।
त्यसरी नै प्रतिष्ठानकी अप्सरा के.सी. ले सहभागी साहित्यिक ढुकढुकीलाई न्यानो स्वागत गरिन् । आफ्नो प्रतिष्ठानको मासिक कार्यक्रममा भएको लब्ध प्रतिष्ठित एवम् गरिमामय उपस्थितिको के.सी.ले मुक्तकण्ठले प्रशंसा गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा भाषा आयोगका सदस्य डा.अमर गिरीले छन्द होस् वा मुक्तछन्द, काव्य लेखन काव्यिक र बोधगम्य हुनुपर्ने राय व्यक्त गरे । कविता भनेर लेखिएका कैयन् लेखोट कविता बन्नबाट चुकेको बताउँदै छन्द वा मुक्तछन्दमा माथापच्ची गर्न आवश्यक नरहेको तर्क गरे । आम छन्द कविता कविताको मौलिक परिभाषा र परम्पराबाट कोसौँ पर रहेको भन्दा यदाकदा आफ्नो आलोचना भएको भन्दै यथार्थता कहिलेकाहीँ हजम हुन नसक्ने उनको कथन थियो ।
कृतिकार जगदीश्वर पोखरेलको कृति ‘पद्यकुञ्ज’को परिचर्चा गर्दै गर्दै परिचर्चाकार डा. शैलेन्दुप्रकाश नेपालले कृति नेपाली शास्त्रीय छन्दको एक प्रयोगशाला भएको अभिमत राखे । हरेक कवितामा छन्द हुने बताउँदै लयविहीन रचना कविता वर्गमा नपर्ने जिकिर गरे । उनले एकैपटक पन्ध्र वटा कृति नेपाली साहित्य भण्डारलाई अर्पण गरेकोमा पोखरेलको सराहना गरे ।
कार्यक्रममा विशेष कविका रूपमा कविहरू योगेन आत्रेय, हरिप्रसाद घिमिरे, शान्ति सापकोटा, नारायण निरासी, कृष्णप्रसाद जस्ताघरे, सविता बराल र शम्भुप्रसाद गजुरेल थिए भने अतिथिका रूपमा आमन्त्रित सामाखुसी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारी तथा अन्य कविहरू रेणु अधिकारी ‘मौनता’, ध्रुब गजुरेल, राजेन्द्र घिमिरे ‘सागर’, देवराज सिम्खडा, अलका मल्ल, एन्जल निलुलगायत डेढ दर्जन स्रष्टाहरूले आआफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा छन्दकवि जगदीश्वर पोखरेलले आफ्नो एउटा कविता वाचन गरी आफू प्रौढावस्थामा पुगेपछि मात्र लेखनीको थालनी गर्नुपर्नाको कारण खुलासा गरे । उनले लेखकीय जीवनका ऊहापोहबारे पनि आफ्नो अभिमत राखे । प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ले लोमश वाङ्मय प्रतिष्ठानले स्थापनाकालदेखि नै विधागत विशेष कार्यक्रम आयोजना गरिरहेको र आगामी माघ महिनाको चौँथो शनिवार मुक्तक विशेष कार्यक्रम आयोजना हुन लागेको अवगत गराउँदै मुक्तककारहरूलाई विशेष आमन्त्रण गरे । हरेक कार्यक्रममा पुस्तक परिचर्चालाई स्थान दिइएको अवगत गराउँदै ओझेलमा परेका स्रष्टालाई माथि उठाउन यत्न गर्ने आफ्नो प्रतिष्ठानको अभीष्ट रहेको उनको कथन थियो । सम्पूर्ण स्रष्टाहरू तथा प्रारम्भ वर्ल्ड स्कूलप्रति आभार व्यक्त गर्दै कार्यक्रमको समापन गरे ।

