प्रसिद्ध साहित्यकार लीलाध्वज थापाको स्मृतिमा स्थापना गरिएको लीलाध्वज थापा साहित्य प्रतिष्ठान काठमाडौँको त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान/पुरस्कार प्रदान कार्यक्रमका अवसरमा वरिष्ठ साहित्यसेवी पवन आलोकलाई दश हजार नगद राशि सहित लीलाध्वज थापा स्रष्टा सम्मानद्वारा सम्मानित गरिएको छ ।
बालुवाटार स्थित चिल्ड्रेन मोडल स्कुलमा आयोजना गरिएको उक्त कार्यक्रममा सम्मानित साहित्यकार आलोकले लीलाध्वज थापालाई आफूले प्रसिद्ध उपन्यासकारको नामबाट चिनेको उल्लेख गर्दै यसरी जीवनभर साहित्यमा लागेका चर्चित साहित्यकारको नामबाट स्थापना भएको प्रतिष्ठानबाट सम्मानित भएर प्रतिष्ठानसँग जोडिने मौका दिनुभएकोमा ज्यादै खुशी लागेको छ भन्नु हुँदै प्रतिष्ठानका अध्यक्ष, निर्णायक मण्डल र यसमा संलग्न व्यक्तिहरूलाई धन्यवाद भन्नुभयो । आफूले उहाँको उपन्यासहरू तथा अन्य नाटक , निवन्ध, खण्ड काव्य सबै पढेको उल्लेख गर्दै मन उपन्यासको लेखकको नामबाट मैले उहाँलाई चिनेको हुँ । मन उपन्यास ज्यादै नै चर्चित र सबैको प्रिय उपन्यास थियो । धैरैले धेरै पटक दोहोराएर पढेको सुनाउथे । उहाँका सुपुत्र विजयजीले पनि आफ्नो पिताको प्रेरणाले कविता,नियात्रा , मुक्तक, गीत लेखेर नेपाली साहित्यको श्रीवृद्धि गरेको चर्चा गर्दै पिताजीको स्मृतिमा प्रतिष्ठान स्थापना गरेर रचना वाचन तथा स्रष्ठासम्मान पुरस्कार प्रदान गरेर साहित्यकारहरूमा गुन लगाउनु भएको छ भन्नुभयो । सम्मान अथवा पुरस्कार भनेको ठूलो सानो हुँदैन ,श्रद्धाले गरेको सबै सम्मान ठूलो हुन्छ पैसा ठूलो कुरा हैन भन्नु हुँदै पिताजीको नाममा प्रतिष्ठान स्थापना गरेर रचना वाचन तथा स्रष्टाहरूको सम्मान कार्यक्रम गर्दै आएकोमा प्रशंसा गर्नु भयो ।
सो अवसरमा अग्रज साहित्यकार तथा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित हुनुभएका साहित्यकार पवन आलोक माथि प्रकाश पार्नुभएको थियो ।
उक्त सम्मान प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले प्रदान गर्नुभएको थियो भने सम्मानित स्रष्टाले २०२३/२०२४ सालदेखि नै उपन्यास, कथा, कविताको माध्यमबाट नेपाली भाषा , साहित्यको उल्लेखनीय सेवा गर्नु भएको सम्बन्धमा प्रकाश पार्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि तथा उपस्थित अन्य साहित्यकारहरूले साहित्यकार लीलाध्वज थापा बारे चर्चा गर्दै उहाँको उपन्यास बारेमा चर्चा गर्नुभयो ।
सोही अवसरमा प्रा.डा.गोविन्दमान सिंह कार्कीले कार्यक्रम ज्यादै राम्रो भएको उल्लेख गर्दै कविता वाचन गर्नु भयो । उपन्यासकार शंकर भारतीले लीलाध्वज थापाबाट आफूले प्रेरणा पाएको उल्लेख गर्दै उपन्यास बारे चर्चा गर्नु भयो । अन्य कविहरू ➽ ओमप्रसाद कोइराला, उत्तम विचार , कुमार नेपाल, धरणीधर गुरागाईं , विजयध्वज थापा , गङ्गा खड्का, सुशान्त के.सी.,निर्मल रमण पराजुली, प्रल्हाद लामिछाने,उषा के सी, रमेश भटराई पुजारी, पुष्पा भण्डारी, सुशीला रिजाल, अरुण खड्का, बद्री उप्रेती, बिष्णु थापा बिछोड, इच्छाराम थापा धडकन, मदन प्रसाद नेपाल, सुन्दर खड्का, तोया गौतम,शुकदेव उपाध्याय, प्रमोद नेपाल, सुधा बास्कोटा ढकाल, रामेश्वर के सी, अमर अधिकारी, अनुपमा भुजेल, सीता कंडेल , भानुप्रकाश जोशी, राज रजक, लव खड्का, एन बी जनकपुरी, प्रीति आत्रेय ज्ञवाली, एम बी पाण्डे, शारदा गौतम आचार्य, अमर अधिकारी, श्याम मकाजु, शर्मिला तिमिल्सीना, शंकर भारती,चन्द्र श्री कार्की , लिलाराज दहालले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो । राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको उपलक्षमा विशेष कार्यक्रम भएको उल्लेख गर्दै वाचन गरिएका रचनाहरूको उच्च मूल्याङ्कन गरेर स्रष्टाहरूलाई कदरपत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
सो कार्यक्रममा स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । अन्त्यमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै हालसम्म ७९ अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मानले, सात जनालाई साहित्य सम्मानले तथा ४०० भन्दा बढीलाई कदर-पत्रले सम्मानित गर्न पाउँदाको खुशी व्यक्त गर्नुकासाथै उपस्थित सम्पूर्ण स्रष्टा प्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

