काठमाडौँ । लेखक एवम् पत्रकार वशन्त बस्नेतले किताब पढेर कहिल्यै घाटा नहुने बताएका छन् । हिमालयन ह्वाइटहाउस कलेज काठमाडौंमा विद्यार्थीसित लेखक वशन्तले भने- ‘किताब पढेर कहिल्यै घाटा हुँदैन, जीवनको सबैभन्दा सुन्दर ध्यान नै पढाइ हो,’ विद्यार्थीहरूलाई बस्नेतको सुझाव थियो, ‘कोर्सका किताबबाहेकको पढाइले विद्यार्थीको ज्ञानको संसार फराकिलो बनाउँछ ।’
‘समाज र मान्छेका जटिल सम्बन्धहरू पनि बुझाउँछ । किताब पढ्नु भनेको सो समयमा बाँचिरहेको मान्छे र समाजको कथा पनि सँगै पढ्नु हो ।’ बस्नेतले भने ।

हिमालयन ह्वाइटहाउस कलेजका विद्यार्थीसित लेखक/पत्रकार बसन्त बस्नेतले संवादको क्रममा उक्त कुरा बताएका हुन् । कलेजले आइतबार आयोजना गरेको संवादमा विद्याथीसँग बस्नेतले आफ्नो लेखन–यात्रा, पत्रकारिताका अनुभव साटेका थिए ।
महिना महिनामा कलेजले आयोजना गर्ने किताब–विमर्श कार्यक्रममा यसपटक बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’ माथि चर्चा-परिचर्चा गरिएको हो ।
उपन्यासकार शैलेन्द्र अधिकारीले सञ्चालन गरेको ‘विद्यार्थीसँग बसन्त बस्नेत’ कार्यक्रममा लेखक बस्नेतले उपन्यास ‘सिमसारा’ को रचनागर्भ सुनाए । यसअघिको उपन्यास ‘महाभारा’ र गैरआख्यान ‘७२ को विस्मय’ माथि विद्यार्थीले राखेका जिज्ञासाको पनि जवाफ दिए । ‘सिमसाराले पारिवारिक विखण्डन, तनावको कथा भन्छ भने महाभाराले राजनीति, धर्म र प्रेमको कथा,’ बस्नेतले भने, ‘मेरो पहिलो किताब ७२ को विश्मयले मधेशको राजनीतिमाथि विमर्श गरेको छ ।’
इलाम, पाँचथरका पात्रहरूको जीवन नै आफ्ना दुवै उपन्यासको पनि जीवन भएको बस्नेतले सुनाए । लेखकहरूले मान्छेको जीवन र ऊ बाँचिरहेको समयमाथि गर्ने विश्लेषणबारे एक विद्यार्थीको जिज्ञासामा बस्नेतले भने, ‘जीवन वास्तवमा एक लामो यात्रा हो । मान्छेले जीवनलाई ‘लङ ट्राभल’का रूपमा स्वीकार गर्नुपर्छ– सफलता, उत्साह, असफलता र स्वीकारोक्तिलाई सामान्य घटनाका रूपमा सम्झिनुपर्छ ।’
कलेजले प्रत्येक महिना किताबमाथि विमर्श कार्यक्रम गरिरहेको छ । लेखकसमेत रहेका कलेजका निर्देशक मिलन पाण्डेले भने- ‘हामी नियमित रुपमा विद्यार्थी र लेखक बीच यस्ता कार्यक्रम गरिरहेका छौं। यस्ता कार्यक्रमले विद्यार्थीको ज्ञानको क्षितिज उघार्छ ।’

