काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहँदा नेपाली कांग्रेसले चार निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ।
हालसम्मको मतपरिणामअनुसार मुस्ताङ–१, रसुवा–१, मनाङ–१ र दैलेख–१ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
मुस्ताङ–१ बाट योगेश गौचन थकाली विजयी हुँदै कांग्रेसका लागि पहिलो जित दिलाएका हुन्। त्यसैगरी मनाङ–१ मा टेकबहादुर गुरुङ विजयी भएका छन् भने रसुवा–१ मा मोहन आचार्यले जित हात पारेका छन्।
त्यस्तै दैलेख–१ मा बासना थापा विजयी भएकी छन्। उनी विजयी उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने बनेकी छन्। थापाले १२ हजार ३७२ मत प्राप्त गरेकी छन्।
निर्वाचन आयोगका अनुसार हालसम्मको गणनामा कांग्रेसले ९ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ ।

