लिस्वनमा नेपाली कूटनीतिक उपस्थितिको औपचारिक विस्तार
काठमाडौँ । पोर्चुगलको राजधानी लिस्वनमा रहेको पोर्चुगलस्थित नेपाली राजदूतावासको ‘चान्सरी’ बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको छ।
राजदूतावासले १६ अप्रिल २०२५ देखि सेवा सञ्चालन गर्दै आएको भए पनि ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर औपचारिक उद्घाटन गरिएको हो। उद्घाटन अमृतबहादुर राई र पोर्चुगल गणतन्त्रका विदेश मामिला तथा सहयोग राज्यमन्त्री डा. आनाइसाबेल जेभियरले संयुक्त रूपमा गरेका हुन् ।
उद्घाटनपछिको कार्यक्रममा परराष्ट्र सचिव राईले राजदूतावासको औपचारिक समुद्घाटनले दुई देशबीचको मित्रता र सहकार्यलाई संस्थागत बनाएको बताए। राज्यमन्त्री जेभियरले पनि नेपाली राजदूतावासलाई स्वागत गर्दै आगामी कूटनीतिक प्रयासमा पोर्चुगल सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा कूटनीतिक कोर्प्सका डीन एन्ड्रेस कार्रास्कोसा कोसो, पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेल, पोर्चुगलको विदेश मन्त्रालयका महासचिव राजदूत फ्रान्सिस्को रिबेरो टेलेस लगायत कूटनीतिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
राजदूतावास उद्घाटनपछि नेपाली समुदायका प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल प्रवर्द्धनका सम्भावना तथा पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूले भोगिरहेका समस्याबारे छलफल भएको थियो।
समुदायका प्रतिनिधिहरूले राजदूतावास सेवा शुल्क महँगो भएको गुनासो गरेका थिए भने कागजी प्रक्रिया जटिल हुँदा समस्या भइरहेको भन्दै सहजीकरणको माग गरेका थिए।
लेख रचना प्रतियोगिताका विजेता सम्मानित
राजदूतावासले आयोजना गरेको खुला लेख रचना प्रतियोगिताका विजेतालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।
२०८२ सालको संविधान दिवसको अवसरमा आयोजित प्रतियोगितामा पोर्चुगलमै बसोबास गर्ने काठमाडौंका प्रशान्त श्रेष्ठ प्रथम तथा अनलाइनखबरकर्मी कपिलदेव खनाल द्वितीय भएका थिए। विजेतालाई प्रशंसा पत्र र करिब ३२ हजार रुपैयाँ (दुई सय युरो) पुरस्कार प्रदान गरिएको थियो ।

