काठमाडौँ । अब रमाइलोका लागि मात्र होइन, टिकटक बनाएर राष्ट्रिय अभियानमा पनि योगदान दिन सकिने भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको छ।
युवामाझ लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत निर्वाचनको माहोल सिर्जना, प्रचारप्रसार तथा मतदाता शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले आयोगले यस्तो अभियान चलाएको हो।
आयोगका अनुसार फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर एक मिनेट अवधिको सन्देशमूलक टिकटक भिडियो बनाउनुपर्नेछ। तयार पारिएको भिडियो आफ्नै सामाजिक सञ्जालमा पोस्ट गर्नुका साथै फागुन १७ गतेभित्र आयोगको इमेलमा पठाउनुपर्नेछ।
सबैभन्दा बढी भ्युज प्राप्त गर्ने भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ।
प्रथमलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार रुपैयाँ र
तृतीयलाई २० हजार रुपैयाँ नगदका साथै प्रमाणपत्र पनि प्रदान गरिनेछ।
भिडियो निर्वाचनको महत्व, मतदाता शिक्षा, मतपत्रमा सही तरिकाले छाप लगाउने विधि, निर्वाचन आचारसंहिता, मतदाताको अधिकार र कर्तव्यजस्ता विषयमा आधारित हुनुपर्नेछ। संवादमूलक र सन्देशप्रधान भिडियो, मौलिक अडियो र अभिनयलाई विशेष प्राथमिकता दिइने आयोगले जनाएको छ।
एक व्यक्तिले एक विषयमा एक भिडियो पठाउन सक्नेछन् भने समूहगत रूपमा पनि भिडियो निर्माण गर्न सकिनेछ। प्राप्त भिडियोको प्रसारण अधिकार आयोगसँग रहनेछ र आवश्यक परे आफ्ना सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सकिनेछ।
तोकिएका मापदण्ड पूरा नगरेका वा म्यादपछि प्राप्त भिडियो भने स्वीकार नहुने आयोगले स्पष्ट पारेको छ। उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ र आयोगको संयुक्त मूल्यांकनबाट गरिनेछ।

