काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशको राजनीति नै उल्टिएको छ। यसपटक कम्युनिष्ट दल नेकपा (एमाले) र नेकपा गण्डकीबाट पूर्णरूपमा ‘सिफर’मा झरेका छन्।
२०७९ सालको निर्वाचनमा एमालेले पाँच र नेकपाले दुई सिट जितेको गण्डकीमा यसपटक दुवै दलले एउटा पनि क्षेत्र जित्न सकेनन्।
अघिल्लो चुनावमा १० सिट जितेको नेपाली कांग्रेस पनि यसपटक दुई सिटमा सीमित भएको छ। मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङ मात्र निर्वाचित भएका हुन्।
प्रदेशका कुल १८ निर्वाचन क्षेत्रमध्ये १५ सिट जित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकीमा ऐतिहासिक प्रभुत्व जमाएको छ। म्याग्दी, मुस्ताङ र मनाङ बाहेक सबै क्षेत्रमा रास्वपा विजयी भएको हो।
म्याग्दीमा भने स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी बने।
प्रदेश राजधानी रहेको कास्कीका तीनै क्षेत्रमा रास्वपाले जित हात पार्यो। कास्की–१ मा खड्कराज पौडेल(गनेश पौडेल), कास्की–२ मा उत्तमप्रसाद पौडेल र कास्की–३ मा बिना गुरुङ विजयी बने।
बागलुङका दुवै क्षेत्रमा पनि रास्वपाले जित निकाल्यो। बागलुङ–१ बाट सुशील खड्का र बागलुङ–२ बाट सोम शर्मा संसद् पुगे।
स्याङ्जाका दुई सिट पनि रास्वपाको पोल्टामा परे। स्याङ्जा–१ बाट धनञ्जय रेग्मी र स्याङ्जा–२ बाट झविलाल डुम्रे निर्वाचित भए।
तनहुँमा पनि रास्वपाको प्रभाव देखियो। तनहुँ–१ बाट स्वर्णिम वाग्ले र तनहुँ–२ बाट श्रीराम न्यौपाने विजयी बने।
यस्तै, नवलपुर–१ मा राजन गौतम र नवलपुर–२ मा मनिष खनाल विजयी भए। लमजुङबाट धर्मराज केसी र पर्वतबाट सागर भुसाल निर्वाचित भएका छन्।
गोरखाका दुवै क्षेत्रमा पनि रास्वपाले जित हात पार्यो। गोरखा–१ बाट सुदन गुरुङ र गोरखा–२ बाट कविन्द्र बुर्लाकोटी संसद् बन्न पुगे।
यसबीच २०७९ को चुनावमा बागलुङ–१ बाट विजयी बनेका राष्ट्रिय जनमोर्चाका उम्मेदवार यसपटक जमानत जोगाउनसमेत असफल भएका छन्।
गण्डकी प्रदेशको यो परिणामले परम्परागत दलहरूको प्रभाव घट्दै गएको र नयाँ शक्तिका रूपमा रास्वपाको उदय तीव्र रूपमा भएको संकेत गरेको विश्लेषण छ।

