काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। निर्वाचन सुरक्षा व्यवस्थालाई कडाइ गर्दै मतदान सम्पन्न नहुन्जेलसम्म सवारी आवागमन बन्द गरिएको हो।
निर्वाचन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई सिफारिस गरेअनुसार आज राति १२ बजेदेखि भोलि साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।
उनका अनुसार अत्यावश्यक सेवाका सवारीसाधन भने निर्वाध रूपमा सञ्चालन हुनेछन्। एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारसम्बन्धी सवारी, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारीसाधनलाई सञ्चालन अनुमति दिइएको छ।
यस्तै कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन तथा निर्वाचन आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारीसाधनलाई पनि सञ्चालन गर्न दिइनेछ।
आयोगले गन्तव्यमा पुग्नुपर्ने मतदाता तथा यात्रुहरूलाई सवारी बन्द हुनुअघि नै आवश्यक तयारी गर्न आग्रह गरेको छ। निर्वाचन अवधिमा सवारी प्रयोगका क्रममा कुनै अवरोध वा समस्या उत्पन्न भए नजिकको सुरक्षा निकायसँग समन्वय गर्न पनि अनुरोध गरिएको छ।
आवश्यक परे सुरक्षा निकायले आयोगसँग समन्वय गरी सहजीकरण गर्ने व्यवस्था मिलाइने जनाएको छ।

