काठमाडौँ — नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयबारे नागरिकसँग खुला प्रश्नोत्तर गर्ने भएको छ।
बुधबार जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक गर्दै पार्टी सभापति गगनकुमार थापाले उक्त विषयमा प्रत्यक्ष संवाद कार्यक्रम गर्ने घोषणा गरेका हुन्।
आज दिउँसो १ बजेदेखि राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ शीर्षकमा हुने कार्यक्रममा सभापति थापाले देश–विदेशबाट आएका प्रश्नको जवाफ दिने कार्यक्रम तय गरिएको नेपाली कांग्रेसले जनाएको छ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापाले ठूलो एलईडी स्क्रिनमार्फत प्रतिज्ञापत्रको संक्षेपमा जानकारी दिनेछन्। प्रविधिको प्रयोग गरेर विश्वका विभिन्न स्थानबाट प्रत्यक्ष प्रश्न गर्न सकिने व्यवस्था गरिएको उनले बताए।
कार्यक्रम स्थलमै उपस्थित सहभागीहरूबाट पनि प्रश्न लिने र सभापति थापाले प्रत्यक्ष जवाफ दिने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने लक्ष्यसहित आगामी पाँच वर्षका योजनाको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ। पार्टीका अनुसार प्रतिज्ञापत्रका विषयमा आम नागरिकले खुला रूपमा प्रश्न र जिज्ञासा राख्नेछन्।
नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रबारे नागरिकले प्रत्यक्ष प्रश्न गर्ने र सम्बन्धित दलका शीर्ष नेताले सार्वजनिक रूपमा जवाफ दिने अभ्यास पहिलोपटक हुन लागेको कांग्रेसको दाबी छ।

