झापा । केपी शर्मा ओली ले झापा–५ मा गठबन्धनको सम्भावना रहेको संकेत गरेपछि राजनीतिक माहोल तातेको छ। यसैबीच नेपाल कम्युनिस्ट पार्टी का उम्मेदवार रन्जित तामाङले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिँदै आफू कसैका लागि “छाड्ने” उम्मेदवार नभएको स्पष्ट पारेका छन्।
तामाङले लेखेका छन्,
“ढुक्क हुनुहोस्, म कसैलाई छाड्न उम्मेदवार बनेको होइन, सबैलाई हराएर जित्न उठेको हुँ। झापा–५ बासीले मत दिनुहोस्, साथ दिनुहोस्।”
उनको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा ओलीप्रति सिधा चुनौतीका रूपमा हेरिएको छ। झापा–५ मा सम्भावित गठबन्धन, दलहरूबीचको समीकरण र शक्ति सन्तुलनबारे विभिन्न अड्कलबाजी भइरहेका बेला तामाङको यो भनाइले चुनावी प्रतिस्पर्धा झनै रोचक बनाएको छ।
स्थानीय तहदेखि संघीय राजनीतिसम्म प्रभाव राख्ने नेताहरूबीचको प्रतिस्पर्धाका कारण झापा–५ यसपटक राष्ट्रिय चासोको केन्द्रमा परेको छ। तामाङले आफू जनताको मुद्दा लिएर मैदानमा उत्रिएको दाबी गर्दै “कुनै सम्झौता वा लेनदेनको राजनीति नगर्ने” संकेत दिएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार, यदि गठबन्धनको औपचारिक घोषणा भयो भने झापा–५ मा कडा टक्कर देखिनेछ। तर तामाङको दाबीले स्पष्ट पारेको छ—उनी आफ्नो चुनावी अभियान आक्रामक ढंगले अघि बढाउने तयारीमा छन्।
अब प्रश्न उठेको छ—के झापा–५ मा गठबन्धनको रणनीति सफल हुन्छ, कि तामाङको चुनौतीले समीकरण उल्ट्याउँछ? चुनावी मैदानमा यसको उत्तर मतपेटिकाले दिनेछ।

