काठमाडौँ । आज (मंगलबार) साँझ नेपालमा खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। खगोलविद्हरुका अनुसार साँझ ६ः०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामै देखिने छ।
यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट अवलोकन गर्न सकिने छ। चन्द्रमा उदाउँदा नै पृथ्वीको छायाँमा परेको अवस्था देखिनु दुर्लभ मानिन्छ। काठमाडौँमा चन्द्रमा क्षितिजबाट माथि आउँदै गर्दा यसको आधाभन्दा बढी भाग पृथ्वीको कालो छायाँले ढाकिएको देखिनेछ। यो दृश्य करिब एक घण्टासम्म स्पष्ट रूपमा अवलोकन गर्न सकिने खगोलविद्हरुले बताएका छन्।
नाङ्गो आँखाले नै अवलोकन गर्न सकिने चन्द्रग्रहण
यो चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरण वा सुरक्षात्मक चस्माको आवश्यकता पर्दैन। सूर्यग्रहणभन्दा फरक, चन्द्रग्रहणले आँखामा असर नगर्ने भएकाले खुला स्थानबाट नाङ्गो आँखाले सजिलै अवलोकन गर्न सकिन्छ।
यसअघि गएको भदौ २२ गते राति खग्रास (पूर्ण रूपमा ढाकिने) चन्द्रग्रहण लागेको थियो, जुन काठमाडौँबाट करिब साढे तीन घण्टासम्म देखिएको थियो।
सूर्यग्रहण अब २०८४ सालमा मात्र
खगोलविद्हरुका अनुसार नेपालबाट अब सूर्यग्रहण २०८४ सालमा मात्रै देखिनेछ।
तपाईंलाई थाहा छ, ग्रहण कसरी लाग्छ ?
चन्द्रमा, पृथ्वी र सूर्य एउटै सरल रेखामा पर्दा ग्रहण लाग्ने गर्छ। जब पृथ्वीको छायाँमा चन्द्रमा पर्छ, तब चन्द्रग्रहण देखिन्छ। त्यसैगरी, चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्यग्रहण लाग्छ।
आजको यो खगोलीय दृश्य दुर्लभ भएकाले प्रकृतिप्रेमीहरूका लागि विशेष अवसर बनेको छ।

