काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको दिशामा अघि बढाउन प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य रूपमा सहभागी हुन सम्पूर्ण मतदातालाई आह्वान गरेकी छन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले मतदानलाई केवल औपचारिक प्रक्रिया नभई भविष्य निर्माणको निर्णायक क्षणका रूपमा चित्रित गरिन्।
“भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन,” उनले भनिन्, “यो त तपाईंले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो।”
आगामी फागुन २१ गते बिहीबार हुने निर्वाचनमा अन्य काम छाडेर भए पनि मतदान केन्द्रमा पुग्न उनले हार्दिक अपिल गरिन्। निर्वाचनको पूर्वसन्ध्यामा शान्ति र अमनचयन कायम राख्न आग्रह गर्दै उनले जोड दिइन्, “शान्ति नै नेपालको असली पहिचान हो।”
प्रधानमन्त्री कार्कीले देश फेरि एकपटक इतिहासको महत्त्वपूर्ण मोडमा उभिएको उल्लेख गर्दै फागुन २१ लाई आफ्नो र देशको भविष्यको फैसला गर्ने दिनका रूपमा व्याख्या गरिन्। उनका अनुसार लोकतन्त्र सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता अपरिहार्य छ।

