काठमाडौंः अमेरिका–इरानबीच तनाव तीव्र बन्दै गएपछि अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सक्दो चाँडो सुरक्षित स्थानतर्फ बाहिरिन आग्रह गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले सम्भावित आक्रमणको जोखिम उच्च रहेको जनाउँदै क्षेत्र छोड्न औपचारिक सूचना जारी गरेको हो।
अमेरिकाले वेस्ट बैंक, गाजा, जोर्डन, बहराइन, मिस्र, इरान, इराक, इजरायल, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सीरिया, संयुक्त अरब इमिरेट्स र यमन क्षेत्रमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन र बाहिरिन भनेको हो ।
इजरायल र अमेरिकाले शनिवारदेखि इरानमाथि सैन्य कारबाही सुरु गरेका थिए। आक्रमणका क्रममा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको दाबी गरिएको छ।
त्यसपछि इरानले इजरायल र अमेरिकी सैन्य बेस रहेका खाडी मुलुकहरूमा प्रतिआक्रमण जारी राखेको छ। इरानद्वारा मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरू लक्षित गरी आक्रमण भइरहेको छ।
दूतावासमा ड्रोन आक्रमण
साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको पुष्टि भएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार दुईवटा ड्रोनबाट आक्रमण गरिएको हो।
विश्लेषकहरूका अनुसार पछिल्लो घटनाक्रमले मध्यपूर्वलाई पुनः व्यापक क्षेत्रीय युद्धतर्फ धकेल्ने संकेत देखिएको छ। कूटनीतिक पहल कमजोर बन्दै जाँदा सैन्य टकराव विस्तार हुने चिन्ता बढेको छ।

