काठमाडौं क्षेत्र नं. १ मा प्रेसर कुकर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका कुस्लभ के.सी. यतिबेला घरदैलो अभियानमा सक्रिय छन्। परम्परागत दलगत संरचनाभन्दा बाहिर उभिएको वैकल्पिक आवाजका रूपमा प्रस्तुत भएका के.सी. आफूलाई कुनै पार्टीको एजेन्डा बोक्ने प्रतिनिधि नभई आम नागरिकको दैनिक जीवनका समस्याको प्रतिनिधि बताउँछन्।
पछिल्लो चार वर्षदेखि सहकारी पीडितको बचत फिर्ता अभियानमा अग्रपंक्तिमा रहेर संघर्ष गर्दै आएका उनले “बचत फिर्ता नभएसम्म विश्राम छैन” भन्ने अडान दोहोर्याउँदै आएका छन्। सहकारीमा जीवनभरको कमाइ गुमाएका सर्वसाधारणको पीडा आफ्नै एजेन्डा बनाएका के.सी. भन्छन्, “राजनीति भनेको जनताको दबाब घटाउने माध्यम हो, भाषणको मञ्च होइन।” महँगी, बेरोजगारी, आवास संकट, अव्यवस्थित शहरी जीवन र आधारभूत सेवामा असमानता उनका मुख्य चुनावी मुद्दा हुन्।
प्रचार शैलीमा पनि उनी फरक देखिएका छन्। ठूला मञ्च, तडक–भडक र महँगो सामग्रीभन्दा प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै सीमित साधनसहित साथीहरूसँग घरदैलोमा पुगिरहेका छन्। मतदातासँगको भेटमा सुशासन, पारदर्शिता र स्वतन्त्र निर्णय क्षमतामा जोड दिँदै निर्वाचित भएमा कुनै दल वा समूहको दबाबमा नपरी जनहितमा निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्छन्।
काठमाडौं–१ मा दोहोरिँदै आएका अनुहार र दलगत राजनीतिप्रति बढ्दो असन्तुष्टिका बीच के.सी.लाई धेरैले भरोसायोग्य विकल्पका रूपमा हेर्न थालेका छन्। “प्रेसर कुकरमा मतदान, बचत फिर्ताको अभियानलाई समर्थन” भन्ने नारासहित उनी जनताको घरआँगनमै पुगेर मत मागिरहेका छन्। सीमित स्रोत, सरल जीवनशैली र मुद्दामुखी अभियानका कारण कुस्लभ के.सी. स्वतन्त्र राजनीतिमा सम्भावनाको नयाँ संकेतका रूपमा उभिएका छन्।

