काठमाडौं । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य पदको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ६० जना प्रबुद्ध नागरिकहरूले संयुक्त अपिल सार्वजनिक गरेका छन्। लोकतन्त्रको संस्थागत विकासका लागि स्वतन्त्र, निष्पक्ष तथा भयरहित निर्वाचन अनिवार्य सर्त भएको उनीहरूको ठहर छ।
संयुक्त वक्तव्यमा भनिएको छ, “लोकतन्त्रको संस्थागत विकासको लागि स्वतन्त्र, निष्पक्ष एवं भयरहित निर्वाचन अनिवार्य सर्त हो। साथै मतदानपछि मतपेटिकाको सुरक्षा र निस्पक्ष मतगणना पनि निष्पक्ष निर्वाचनका आधारभूत माध्यम हुन्।”
नागरिकहरूले भाद्र २३ र २४ गते घटेका दुखद् तथा कहालीलाग्दा घटनाप्रति चिन्ता व्यक्त गर्दै ती घटनाले आम मतदातामा त्रास र अन्योल सिर्जना गरेको उल्लेख गरेका छन्। त्यसैले आगामी फागुन २१ को निर्वाचन शान्त, सुरक्षित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सबै पक्ष गम्भीर र जिम्मेवार बन्नुपर्ने उनीहरूको आग्रह छ।
अपिलमा निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दलहरू, आम सञ्चार जगत, उम्मेदवारहरू, मतदाता तथा सर्वसाधारण नागरिकहरू सबैलाई लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्ध रहँदै आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न आह्वान गरिएको छ।
नागरिकहरूले निर्वाचन प्रक्रियाका हरेक चरण—मतदान, मतपेटिका सुरक्षा, मतगणना तथा परिणाम घोषणा—पारदर्शी र निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले निर्वाचनको विश्वसनीयता कायम राख्न राज्यका निकायहरूले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनुका साथै कुनै पनि प्रकारका दबाब, प्रलोभन वा हिंसात्मक गतिविधि हुन नदिन कडाइका साथ कदम चाल्नुपर्ने बताएका छन्।
संयुक्त अपिलमा भनिएको छ, “निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र होइन, यो लोकतन्त्रप्रतिको जनविश्वासको परीक्षा पनि हो। त्यसैले सबै सरोकारवाला पक्षले संयमता, सहिष्णुता र पारदर्शितालाई आत्मसात गर्दै निर्वाचन सफल बनाउन सहयोग गर्नुपर्छ।”
प्रबुद्ध नागरिकहरूको उक्त अपिलले फागुन २१ को निर्वाचनलाई स्वच्छ, पारदर्शी र जनविश्वास योग्य बनाउन सामूहिक जिम्मेवारी वहन गर्न सबै पक्षलाई सचेत गराएको छ।

