धनुषा । नेपाल रेल्वे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर–जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिन पूर्ण रूपमा बन्द गर्ने जनाएको छ।
कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधामद्वारा जारी सूचनाअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्ति सुरक्षा प्रत्याभूति गराउने उद्देश्यले फागुन १९ गते (मङ्गलबार) देखि फागुन २१ गते (बिहीबार) सम्म भङ्गाहा–जनकपुर–जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहनेछ।
कम्पनीले उक्त अवधिमा यात्रुलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरेको छ। साथै फागुन २२ गते (शुक्रबार) देखि साविक बमोजिम नियमित रेल सेवा पुनः सञ्चालनमा आउने पनि सूचनामा उल्लेख गरिएको छ।
रेल सेवा बन्द रहने अवधिमा यात्रुहरूले वैकल्पिक यातायातको व्यवस्था गर्न कम्पनीले अनुरोध गरेको छ।

