काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मतगणना देशभर जारी रहँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न १० वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। पछिल्लो मतपरिणामअनुसार नेकपाका शीर्ष नेताहरूले विभिन्न जिल्लामा सुरुवाती बढत लिएका हुन्।
रुकुम पूर्वमा पुष्पकमल दाहाल प्रचण्ड ८ हजार ७ सय ४७ मतसहित फराकिलो अग्रतामा रहेका छन्। त्यस्तै कालिकोट क्षेत्र नम्बर १ मा महेन्द्र बहादुर शाही ६ हजार ८ सय ८३ मतका साथ अघि रहेका छन्।
यसैगरी कैलाली क्षेत्र नम्बर ३ मा विरमान चौधरी १ हजार ८ सय १५ मतसहित अग्रस्थानमा छन् भने कपिलवस्तु क्षेत्र नम्बर २ मा बृजेश कुमार गुप्ता १ हजार ३ सय ९८ मतसहित अघि रहेका छन्।
बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ मा दिननाथ गौतम १ हजार ३ सय ४१ मतसहित अग्रतामा छन् भने धादिङ क्षेत्र नम्बर २ मा राम बहादुर भण्डारी १ हजार १ सय ४४ मतका साथ अघि छन्।
उता सल्यान क्षेत्र नम्बर १ मा रमेश कुमार मल्ल १ हजार ८६ मतसहित अग्रतामा छन्। त्यस्तै अछाम क्षेत्र नम्बर १ मा भीम बहादुर रावल ९ सय ५२ मतसहित पहिलो स्थानमा छन् भने रोल्पा क्षेत्र नम्बर १ मा वर्षमान पुन ६ सय ५८ मतसहित अघि रहेका छन्।
यसैगरी दोलखा क्षेत्र नम्बर १ मा विशाल खड्का २ सय ८४ मतसहित सुरुवाती अग्रता कायम गरेका छन्।
देशभर मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।

